१९ चैत ,एजेन्सी ।
भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पु¥याएको छ । गर्मीको समयमा आउने ’काल वैशाखी’ नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।
जलपाईगुडीका एक स्थानीय बासिन्दाले धेरै शक्तिशाली आँधीले त्यस क्षेत्रका धेरै ठाउँमा असर गरेको बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न नागरिकलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छन् । उनी गएराति नै घटनाको जानकारी लिन र घाइतेहरूलाई भेट्न आँधी प्रभावित क्षेत्रमा पुगेकी थिइन ।
बनर्जीले मृतक र घाइतेका आफन्तलाई जिल्ला प्रशासनले आचारसंहिता पालना गरी नियम कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताएकी छिन् । उनले विपद् व्यवस्थापन कार्यमा सम्बन्धित सबैलाई संलग्न भएर राहत दिन आग्रह गरिन् । यस प्रकोपबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसी हिन्दीले जनाएको छ ।
बंगालसँगैको राज्य आसाममा पनि यसको असर परेको छ । धेरै ठाउँमा मुसलधारे पानी परेको छ । गोपीनाथ बोर्डोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा यसको ठूलो असर परेको छ । अचानक आएको भारी वर्षा र हावाहुरीका कारण गुवाहाटी विमानस्थलको छाना खसेको छ । घटनाले विमानस्थलमा हलचल मच्चाएको छ ।
विमानस्थलका कर्मचारी र यात्राका लागि आउने यात्रुबीच भागदौड भएको थियो । विमानस्थलको छाना खसेपछि केही समयका लागि उडान अवरुद्ध भएको र ६ वटा उडान डाइभर्ट गर्नुपरेको अधिकारीहरुले बताएका छन् । मौसम विभागले वर्षा र हावाहुरीलाई मध्यनजर गर्दै रेड अलर्ट जारी गरेको छ ।