१९ चैत , काठमाण्डौ।
मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे ।
कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।
पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १–१ विकेट लिए । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् ।
आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ । आयरल्यान्ड वल्भ्सले सिरिज २–० ले जितिसकेको अवस्थामा आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ । दुवै खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । वल्भ्सले दुवै खेलमा सुरुवाती ब्याटिङ गर्दै २ सय २२ रनको विशाल आँकडा पार गरेको छ ।
नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो । यस्तोमा आजको योगफलमा पनि आयरल्याण्डसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । टी–२० शृङ्खलापछि नेपाल ‘ए’ र पाहुना टोली आयरल्यान्ड ‘ए’ बीच तीनवटा एकदिवसीय खेलको शृङ्खला खेलिने छ । यसअघि राष्ट्रिय टोलीसँगको २ टी २० मा आयरल्याण्ड ए पराजित भएको थियो ।