२० चैत , काठमाण्डौ ।
संघमा नयाँ गठबन्धन गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सुदुर पश्चिम सरकार निर्माणमा निर्णायक मानिएको उन्मुक्तिबाट समर्थन हासिल गर्ने गरी प्रधानमन्त्रीले छलफल गरेका छन् ।
बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित रहेको बताइएको छ । रेशम र रन्जिताबीचको विवादले नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ ।
रन्जिताले नयाँ गठबन्धनलाई समर्थन गरेर सुदूरबाट फिर्ता हुन् आफ्ना मन्त्रीहरुलाई निर्देशन दिइसकेकी छन् भने रेशम ठीक यसको विपक्षमा छन् । संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।
तर आफूले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको बताएका छन् । हिजो पार्टीमा देखिएको विवादमो सम्पूर्ण कारक वर्तमान सरकार रहेको रेशमले आरोप लगाएका थिए । सरकारले नै आफ्नो पार्टी भित्र खेलिरहेको उनले आरोप लगाएका थिए ।
सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।
कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् । रेशमले समेत आसन्न पार्टी बैठकबाट गलत गर्नेहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् ।