२२ चैत ,एजेन्सी।
नेपालमा बाँदर, जंगली बँदेल र हात्तीले पनि दुःख दिएजस्तै बोत्स्वानामा पनि हात्तीले सर्वसाधारणको दैनिकीलाई निकै अप्ठ्यारोमा पारिरहेको छ । बोत्स्वानाको सरकार एकातिर हात्ती व्यवस्थापनसंग जुधिरहेको छ भने अर्कातिर यसैका कारण उसको जर्मनीसंग चर्काचर्की परेको छ । बोत्स्वानाका राष्ट्रपतिले जर्मनीलाई हात्ती लगाइदिने चेतावनी नै दिएका छन् ।
वन्यजन्तु संरक्षणसम्बन्धी एउटा विवाद चर्किएपछि बोत्स्वानाका राष्ट्रपतिले २० हजार हात्ती जर्मनी पठाउने चेतावनी दिएका हुन् । यो वर्षको सुरुतिर जर्मनीको पर्यावरण मन्त्रालयले आखेटोपहार आयातमा अझ कडाइ गरिनुपर्ने बताएको थियो । यसैबारे जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै बोत्स्वानाका राष्ट्रपति मोख्वेट्सी मासिसीले जर्मनीको निर्णयले आफ्नो देशका जनतालाई गरिब बनाउने बताए ।
संरक्षण अभियानका कारण हात्तीको सङ्ख्या निकै बढेको र तिनको नियन्त्रण गर्न सिकारले सघाउने उनको तर्क थियो । “जसरी तपाईँहरूले हामीलाई भन्न खोज्नुभएको छ त्यसरी नै जर्मन नागरिकहरूले ती जीवसँग बस्नुपर्छ,“ जर्मन पत्रिका ’बिल्ड’सँग उनले भने । “यो कुनै ठट्टा हैन।“ बोत्स्वानामा विश्वभरि भएकामध्ये एकतिहाइ अर्थात् एक लाख ३० हजार भन्दा बढी हात्ती छन् ।
ती हात्तीलाई बोत्स्वानामा ठाउँ पुग्दैन । मासिसीले हात्तीका बथानले धनजनमा क्षति पु¥याउने र अन्नपात खाएर दुःख दिने गरेको बताए । हात्तीको सङ्ख्या कम गर्ने प्रयासमा बोत्स्वानाले छिमेकी देश एङ्गोलालाई ८ हजार वटा र मोजाम्बिकलाई सयौँ हात्ती दिएको थियो । “हामी जर्मनीलाई त्यस्तो उपहार दिन चाहन्छौँ,“ उनले भने । तर नाइँ भन्ने उत्तर आफूले नखोजेको उनले बताए ।
बोत्स्वानाले सन् २०१४ मा शिकारमाथि प्रतिबन्ध लगाएको थियो । तर स्थानीय समुदायबाट दबाव आएपछि २०१९ मा प्रतिबन्ध फिर्ता गरियो । अहिले त्यहाँ शिकारका लागि वार्षिक कोटा तोकिन्छ । अधिकारीहरूका अनुसार त्यसबाट स्थानीय समुदायहरूले आयआर्जन गर्न पाउँछन् अनि शिकारका लागि अनुमति लिएको हुनुपर्ने भएकाले त्यो नियन्त्रित हुन्छ ।
सरकारले हात्ती मारेर त्यसको मासु घरपालुवा जनावरलाई खानाका रूपमा दिने योजनाबारे विचार गरेको थियो । ह्यूमन सोसाइटी इन्टरन्याश्नलले सन् २०२१ मा प्रकाशित गरेको प्रतिवेदनका अनुसार जर्मनी ईयूमा अफ्रिकी हात्तीको शिकार गरेर बनाएका समान र समग्रमा सबै आखेटोपहारको सबैभन्दा ठूलो आयातकर्ता हो ।
अस्ट्रेलिया, फ्रान्स र बेल्जियमले पनि आखेटोपहारको व्यापारमा प्रतिबन्ध लगाएका छन् । मार्च महिनामा यूकेका सांसदहरूले पनि त्यस्तो प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए ।a