२२ चैत ,एजेन्सी।
साउदी अरबले मिस युनिभर्स प्रतियोगितामा भाग नलिने भएको छ । पहिलो पटक मुस्लिम देशको प्रतियोगीको रुपमा साउदी अरबले मिस यनिभर्समा सहभागिता जनाउन लागेको विषयमा कुनै जानकारी नभएको आयोजकले जनाएको छ । मिस युनिभर्स अर्गनाइजेशनले यस वर्ष हुन लागेको प्रतियोगितामा साउदी अरबले भाग नलिने प्रष्ट पारेको छ ।
एक वक्तव्य जारी गर्दै अर्गनाइजेशनले साउदी अरबले हालसम्म यस वर्ष हुने मिस युनिभर्स प्रतियोगितामा भाग लिने कुरा आधिकारिक रुपमा पुष्टि नगरेको बताएको छ । जबसम्म साउदी अरबले जानकारी गराउँदैन तबसम्म मिस युनिभर्स प्रतियोगितामा साउदी अरबलाई प्रवेश नदिने उसको बयानमा उल्लेख छ ।
२७ वर्षीया साउदी अरबकी मोडल रूमी अलकाहतानीले आफ्नो इन्स्टाग्राममा मिस युनिभर्स प्रतियोगतामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन् । उनले विश्वमै पहिलो पटक मुस्लिम मुलुकको रुपमा साउदी अरबले भिस युनिभर्स प्रतियोगितामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन् । तर, साउदी अरब सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक जानकारी गराइएको छैन ।
साउदी अरेबियाको राजधानी रियादबाट आएकी अलकाहतानीले केही साताअघि मलेसियामा सम्पन्न मिस एण्ड मिसेस ग्लोबल एसियनमा भाग लिएकी थिइन् । ‘मेरो योगदान विश्व संस्कृतिको बारेमा जान्न र हाम्रो प्रामाणिक साउदी संस्कृति र सम्पदालाई संसारमाझ फैलाउनु हो,’ हल्काहतानीलाई उध्दृत गर्दै अरब न्युजले उल्लेख गरेको थियो ।
मिस साउदी अरेबियाको ताज पहिरिनुसँगै उनले मिस मिडल इस्ट (साउदी अरेबिया), मिस अरब वर्ल्ड पिस २०२१ र मिस वुमन (साउदी अरेबिया)को उपाधि समेत हात पारेकी छन् । इन्स्टाग्राममा १० लाख फलोअर्स र एक्समा २ हजार जनाबाट पछ्याइएकी मोडल अल्काहतानीले आफ्नो यो कदमलाई लिएर उत्साहित रहेको बताएकी थिइन् ।’
यस्तै लामो समयसम्म रुढिवादी मूल्यमान्यताको कारण परिचित साउदी अरेबियाले पछिल्लो समय ३८ वर्षीय राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा उदारवादी नीतिहरु आत्मसात गर्दैगर्दा रुमीले मिस युनिभर्सको दुनियाँमा प्रतिस्पर्धा गर्न लागेको कुराले निकै चर्चा बटुलेको थियो ।
राजकुमारले महिलालाई गाडी चलाउन, महिला–पुरुष दुवैलाई एउटै कार्यक्रममा सहभागी हुन, पुरुष अभिभावकत्वबिना राहदानीको लागि आवेदन दिन पाइने नियम ल्याएपछि विश्वको ध्यान यसतर्फ सोझिएको छ । तर मिस युनिभर्समा सहभागिता जनाउँने कुरालाई अहिलेसम्म औपचारिक जानकारी नगराएपछि रुमीको सपना भने अधुरै रहने भएको छ ।