२३ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच भिडन्त हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७ औँ संस्करणमा साविक विजेता चेन्नई र हैदराबाद दुवैको यो चौथो खेल हो । यसअघि खेलिएको तीन खेलमा चेन्नईले दुई जित हात पारेको छ ।
एक खेलमा भने चेन्नई पराजित भएको छ । चेन्नई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । हैदराबादले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । दुई खेलमा हैदराबाद पराजित भएको थियो । हैदराबाद दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो ।
चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि जित्न सकेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि हात पारेको थियो । चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच हालसम्म इन्डियन प्रिमियर लिगमा कुल १९ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा चेन्नईले हैदराबादलाई हराएको छ ।
बाँकी पाँच खेलमा भने हैदराबाद विजयी भएको छ । समग्रमा चेन्नईले हैदराबादविरुद्ध ७४ प्रतिशत खेल जितेको छ । हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा चेन्नई र दुई खेलमा हैदराबाद विजयी भएको छ ।
चेन्नई र हैदराबादबिच शुक्रबारको खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा खेलिएको खेलमा गतिलो रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ७२ खेल खेलिएको छ । त्यसमध्ये ३२ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् ।