शुरु भयो ‘सत्य हरिश्चन्द्र’ को मञ्चन, चैत ३० सम्म हुने

२२ चैत ८०, शुक्रबार

२३ चैत , विराटनगर।

राजा हरिश्चन्द्र पात्रलाई केन्द्रमा राखेर सत्यपथमा जस्तो सुकै कष्ट भएतापनि त्यसको अन्त्य सुखद् हुन्छ भन्ने सन्देश बोकेको नाटक ‘सत्य हरिश्चन्द्र’ विराटनगरको गुरुकुलले मञ्चन शुरु गरेको छ । सूर्य वंशका अठ्ठाइसौँ राजा रामचन्द्र भन्दा पैँतीस पिँढी पहिले त्रिशङ्कका पुत्र तथा शौभपुर नामक राज्यका राजाका रुपमा वर्णित राजा हरिश्चन्द्रको कथा हाम्रा शास्त्रहरुमा निकै प्रशिद्ध पनि छ ।

Advertisement

उक्त नाटक आजभन्दा करिब एक सय पचास वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेका हुन् । शिक्षण पेशा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले वि.सं. २०३३ सालमै नेपालीमा अनुवाद गरेको उक्त नाटक मञ्चनका हिसाबले अहिलेसम्म छायाँमा परिरहेको थियो ।आधुनिक नाटकहरुमा भन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास सहित नाटक मञ्चन गरिएको निर्देशक दिपेश भण्डारीले बताए ।

‘करिब ५० वर्षअघि अनुवाद भएर थन्किएको अवस्थामा फेला परेको यो नाटक मञ्चमा प्रस्तुत गर्ने जमर्को गरेका हौँ’, निर्देशक भण्डारीले भने, ‘मानिसको नैतिक जीवनमा कतै न कतै सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ’ । शुक्रबारदेखि सुशीला कोइराला नाटकघरमा शुरु भएको नाटक चैत ३० गतेसम्म मञ्चन हुनेछ ।१ घण्टा ४५ मिनेट अवधिको यो नाटकमा राजा हरिश्चन्द्रसँगै रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी, विश्वामित्र लगायत पात्रहरु देखिन्छन् ।

Advertisement

केहि समयअघि अडिसन गरी कलाकार छनोट गरेर रिहर्सल थालेको गुरुकुलको यस नाटकमा प्रदिप दाहाल, दिक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुष प्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिष कुमार ठाकुर लगायतको अभिनय छ ।

भरत कार्कीको प्रकाश परिकल्पना, सविन भट्टराईको मञ्च परिकल्पना तथा सह निर्देशनमा तयार यस नाटक चैतको ३० गतेसम्म साँझ ५ः१५ बजे मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । सत्य र असत्यबीचको दूरी कति ? धर्म र अधर्मबीचको अन्तर के ?नैतिकता र अनैतिकताबीचको पातलो रेखाको मापन कसरी गर्ने ? निष्ठाको बाटोमा हिँड्दा सुखद् अन्त्य कल्पना गर्न पनि नसकिने समय आइसकेको हो ?जस्ता प्रश्नहरुमा विचार्न छाडिएको यो समयमा एउटा नाटक मञ्चन शुरु भएको छ ।

जुन हेरिसकेपछि दर्शक कम्तीमा ति यावत प्रश्नहरुमा केहि समय मात्र भएपनि घोरिन बाध्य हुने निर्देशक भण्डारीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top