Nepal Times
Nepal Times
3
Shares

स्लोभाकियामा पनि पुटिनको दबदबा

स्लोभाकियामा पनि पुटिनको दबदबा

२५ चैत, एजेन्सी ।

स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी निर्वाचित भएका छन् । पश्चिमा समर्थक पूर्वकूटनीतिज्ञ इभान कोर्कोकलाई पराजित गर्दै ५३ प्रतिशत मतका साथ ४८ वर्षीय पेलेग्रिनी विजयी भएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका पेलेग्रिनी वर्तमान प्रधानमन्त्री रोबर्ट फिकोको सहयोगी हुन् । रुस समर्थक मानिने प्रधानमन्त्री फिको जस्तै राष्ट्रपतिमा पनि पेलेग्रिनी निर्वाचित भएका छन् ।

यससँगै स्लोभाकियाको संसद्, सरकार र चाँडै नै राष्ट्रपतिको कार्यालयमा फिको र उनका सहयोगीको नियन्त्रण हुने भएको छ । फिको गत अक्टोबरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि स्लोभाकिया युक्रेनको कट्टर सहयोगी थियो । फिकोले युक्रेनलाई पश्चिमी सैन्य सहयोग रोक्न भन्दै तत्काल युद्धविराम गरी मस्कोसँग शान्ति वार्ता गर्न आह्वान गरेका छन् ।

उनले हालै युक्रेनलाई नेटोमा सहभागी गराउनु तेस्रो विश्व युद्धको सुरुआत हुने टिप्पणी गरेका छन् । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकालका लागि हालै चुनाव जितेका छन् । यसले उनी अब कम्तीमा सन् २०३० सम्म राष्ट्रपतिको कार्यालयमा रहने बाटो खुलेको छ । विजय मन्तव्यमा उनले आफ्नो जितले रुस “शक्तिशाली र थप प्रभावकारी“ भएर समृद्ध हुने बताएका थिए ।

उनी यस पटक सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत मत ल्याएर बिजयी भएका छन् । यसअघिको चुनावमा उनले ७६.७ प्रतिशत मत ल्याएका थिए । युक्रेनमा जारी युद्धका कारण पश्चिमा देशहरूले पुटिनलाई एक्ल्याएका छन् तर पनि उनी पहिलेभन्दा अधिक शक्तिशाली बनेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.