२७ चैत ,एजेन्सी ।
भारतको उत्तराखण्डस्थित नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ ।
गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् । प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबै जना फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो ।
आउटलुक इण्डियाका अनुसार बेतालघाटको उन्चकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे । काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए । सोही गाडी दुर्घटना हुँदा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेतको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
मृतक सात जना महेन्द्रनगरका रहेको टाइम्स अफ इण्डियाले समाचारमा उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् ।