Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेको उम्मेदवारी

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेको उम्मेदवारी

२७ चैत ,काठमाण्डौ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार संघीय संसद भवनमा कांग्रेसबाट राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनी र एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । पुडासैनीको प्रस्तावक दुर्गा गुरूङ र समर्थक नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावक भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की अछामी छन् । अछामी नेकपा (माओवादी केन्द्र) का सांसद हुन् ।

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो । तर नेकपा (एकीकृत समाजवादी) ले पनि उपाध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर, आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी पनि नदिइएको नेकपा एसका एक पदाधिकारीले बताए ।

यता एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ । उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।

यता उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् । उनले राष्ट्रिय सभामा भाषण भन्दा बढी काम गर्नुपर्ने बताइन् । उनले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाहरूको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभइ आफूले सभाको गरिमा बनाउनेतर्फ बाम गर्ने बताए । उनले सभामा जनताको मन छुने आवाज उठाउनुपर्ने बताउँदै सबैले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताइन् । ‘राष्ट्रिय सभालाई गरिमामय बनाउनुपर्छ भन्ने पहिलादेखिको धारणा थियो । उम्मेदवार हुन पाउनुमा मलाई खुशी पनि लागेको छ । भाषण भन्दा काम गर्नुपर्छ भन्ने पक्षको हो म ।

२०४९ को गाविस अध्यक्ष भएर पनि मैले काम गरिसकेको छु, मसँग अनुभव पनि छ । महिलाहरुको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको छु । राष्ट्रिय सभाको गरिमा बढाउने काममा लाग्नेछु । कर्मकाण्डी बन्नु हुँदैन भन्ने पक्षमा छ । जनताको मन छुने आवाज उठाउनुपर्छ भन्ने पक्षमा छु । सबैले मलाई भोट दिनुहुन्छ, म नै जित्छु,’ उनले भनिन् ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन् । उनले राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताइन् । ‘सबै सांसदज्युहरुलाई मेरो उम्मेदवारी छ, सबैले मतदान गरेर मलाई निर्वाचित गराउन आग्रह गर्दछु ।

राष्ट्रिय सभामा अध्यक्ष,उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछौं । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहयोग हुनेछ,’ उनले भनिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.