३० चैत , काठमाण्डौ।
वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।
चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् । त्यस्तै एभरेस्ट र एनएमबीले चैतको तुलनामा बैशाखमा बढाएका छन् ।
बाँकी १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् । एभरेष्ट बैंकले चैतमा ६.५ प्रतिशत ब्याज दिएको थियो । चैतको तुलनामा बैशाखमा ०.५ प्रतिशत बिन्दुले बढेर ७ प्रतिशत पुगेको छ ।
यस्तै एनएमबि बैंकले चैतमा ७ प्रतिशत ब्याज दिएकोमा वैशाखमा ०.९७ प्रतिशतले बढाएर ७.९७ प्रतिशत दिएको छ । चैत महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो भने बैशाख महिनामा सबैभन्दा धेरै एनएमबीले ७.९७ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै ब्याजदर घटाउँदै लगेका छन् ।