Nepal Times
Nepal Times
3
Shares

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

३० चैत , एजेन्सी ।

स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका छन् । सम्मेलनमा सय भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताए ।

उनले स्विट्जरल्यान्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको बताए । यसैबीच स्वीस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्विट्जरल्यान्डले युक्रेनमा शान्ति सम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको उल्लेख छ ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रहि युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो । यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको सहभागिता रहने छ । प्रेस विज्ञप्तिका अनुसार, स्विट्जरल्यान्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ ।

यसैबीच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्विट्जरल्यान्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए । परिणामस्वरुप स्विट्जरल्यान्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो । यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्र, ट्रिपिल्या पावर प्लान्टमा आक्रमण गरी पूर्ण नष्ट गरेको छ ।

राजधानी किभसहित युक्रेनको तीन ठूला शहरमा बिजुली पुर्याईरहेको विद्युत् केन्द्रमा क्षति पुगेको एउटा ठूलो पावर प्लान्टमा आक्रमण भएको ऊर्जा कम्पनी सेन्टर एनर्गोले पुष्टि गरेको छ । आक्रमणका कारण विनाशको मात्रा डरलाग्दो रहेको कम्पनीले जनाएको छ । रुसले लामो समयदेखि युक्रेनको ऊर्जा प्रणालीलाई जानाजानी आक्रमणको निशाना बनाउँदै आएको छ ।

रुसले हिजो गरेको आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटरमा क्षति पुग्नुका साथै पावर प्लान्ट पूर्ण रूपमा नष्ट भएको हो । हिजो बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा भएका विद्युत् केन्द्रलाई निशाना बनाएर ८० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.