Nepal Times
Nepal Times
3
Shares

इरानले इजरायलमा गर्याे मिसाइलको वर्षा

इरानले इजरायलमा गर्याे मिसाइलको वर्षा

२ वैशाख ,एजेन्सी ।

अमेरिकाले समयसीमा सहित कुनैपनि बेला इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने चेतावनी दिइरहेका बेला इरानले शनिबार राति इजरायलमा भीषण आक्रमण गरेको छ । इरानले आक्रमणका बेला ३ सय भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ ।

इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ । इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले एक्समा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’

इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । इरानले यहुदी राज्यमा गरेको यो पहिलो प्रत्यक्ष आक्रमणले वर्षौंको छायाँ युद्धलाई खुलारूपमा बढाउने चिन्ता बढेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यो ‘अभूतपूर्व’ आक्रमणमा ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग भएको बताएको छ ।

आफ्नो भूमिमा पुग्नुअघि नै धेरैजसो ड्रोन र मिसाइल रोक्न इजरायल सफल भएको छ । त्यसका लागि इजरायलको वायु सेनाले अमेरिका, जोर्डन र बेलायती वायु सेनाको सहयोग लिएको छ । सिरिया, इराक र जोर्डनको आकाशमा नै इजरायलले इरानी आक्रमण रोकेको बताइएको छ । थप ड्रोन र मिसाइल इरानी क्षेत्रमै आइरन डोम एयर डिफेन्स इन्टरसेप्टर प्रणालीबाट रोकिएको इजरायले जनाएको छ ।

इजरायलको तेल अभिव र अन्य सहरहरूमा आइतबार बिहान साइरन एवं इजरायली वायुसेनाका जेट विमान आवाज चर्किएको थियो । केही मिसाइलले रक्षा प्रणालीमा क्षति गरेको बताइएको छ । इरानको रिभोलुसनरी गार्ड कोर्प (आईआरजीसी)ले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले भनेको छ, “जियोनिस्ट शासनका कयौँ अपराध…र सिरियामा हाम्रो देशका कमान्डर एवं सैन्य सल्लाहकारको सहादतको बदलामा आईआरजीसीको एयरोस्पेस डिभिजनले कब्जा गरिएका क्षेत्रभित्र केही लक्ष्यमा १०औँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ ।” अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘आइरनक्लाड–फलामले ढाकेजस्तो’ समर्थन रहेको र त्यसतर्फ प्रहार भएका सबै ड्रोन र मिसाइल रोक्न सहयोग गरेको बताएका छन् ।

बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले आक्रमणको निन्दा गर्दै यस क्षेत्रमा रोयल एयर फोर्स (आरएएफ)का विमानहरू तैनाथ गरिएको बताएका छन् ।अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ । यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन् । इरानले इजरायललाई प्रतिकार गर्ने सूचना अमेरिकी मिडिया ब्लुमबर्ग केही अगाडि नै सार्वजनिक गरिसकेको थियो।

इजरायली भूमिमा इरानको यो प्रथम प्रत्यक्ष हमला हो । कयौं इरानी ड्रोन र मिसाइल इजरायले झारेको बिबिसीले उल्लेख गरेको छ । इजरायली सेनाको दक्षिण क्षेत्रको शिविरमा हमला हुदा एक घाइते भएको इजरायले सार्वजनिक गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.