२ वैशाख , काठमाण्डौ ।
नागरिक उन्मुक्ति पार्टी भित्रको पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबीचको विवाद झनै उग्र बनेको छ । सुदूरपश्चिम सरकारमा सहभागि हुने कि नहुने, नयाँ गठबन्धनमा समावेश हुने कि काग्रेससहितका दलहरुसँग मिलेर सरकारमा जाने भन्ने विषयमा देखिएको विवाद अहिले सुदूरको मुख्यमन्त्री बन्ने विषयमा सहमति बनिसक्दा समेत टुंगिएको छैन् ।
सुदूरको नेतृत्व आलोपालो गर्न गठबन्धनका शीर्ष नेताबिच सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज भएको छलफलमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।
नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीका अनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिम दिन हो । नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने बताइएको छ ।
आज नै दाबी पेश गर्ने कैलाश चौधरीले बताएका छन् । अर्काे तर्फ सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने तयारी गरेका छन् ।
समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताएका छन् । यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । कांग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ ।
तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । सुदूरमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।