७ वैशाख, काठमाण्डौ ।
आगामी एसिया कप खेल्नका लागि ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को जित्नै पर्ने सेमिफाइनल खेलमा नेपाल निरीह सावित भएको छ । चिरप्रतिस्पर्धी यूएर्ईसँगको खेलमा नेपालका कीर्तिमानी ब्याटरहरु समेत निरीह सावित भएपछि नेपालको दोहोर्याएर एसिया कप खेल्ने सपनामा तत्कालका लागि पूर्णविराम लागेको छ ।
एसीसी प्रिमियर कपको नेपाल डिफेन्डिङ च्याम्पियन समेत भएकाले प्रमुख उपाधि दाबेदारका रुपमा नेपाललाई नै मानिएको थियो । तर यसअघि एसीसी प्रिमियर कपमा यूएईलाई नै हराएर एसिया कपमा पुगेको नेपाल आज यूएईसँगैको खेलमा पराजित भएपछि एसिया कपमा पुग्नबाटै बाहिरिएको छ ।
यूएईसँगको सेमिफाइनल अघि ४ खेलमा अपराजित रहेको नेपाल सेमिफाइनलमा भने स्तब्ध रहन पुग्यो । यसअघि समूह चरणमा एक हार खाएपनि सेमिफाइनल पुग्ने संभावना बढि रहन्थ्यो तर समूह चरणको ४ जित आजको एक हारले हर्थहीन बनेको छ। नेपाल समूह ए बाट ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । तर आजको खेलमा नेपालको ब्याटिङ नचल्दा यूएईका खेलाडी सामू नेपालीस्टार खेलाडी मात्रै होइन नेपाली समेत निराश भएका छन् ।
नेपाली टिमलाई पुन एक पटक भारत पाकिस्तानसँग एसिया कप खेलेको हेर्ने नेपाली समर्थकको सपनामा ओमानमा खेलिएको आजको खेलले पानी फेरिदिएको छ । यूएईविरुद्धको आजको खेलमा नेपाल स्टार ब्याटरहरु १० रन समेत जोड्न नसकी आउट हुन् पुगे । जसमा ० रनमा आउट भएका ओपनर कुशल भुर्तेलले १ बलको सामना गरे ।
यस्तै आसिफ शेख ८ रन ११ बल, रोहित पौडेल ५ रन १८ बल, कुशल मल्ल ३ रन ५ बल ,दीपेन्द्रसिंह ऐरी ५ रन ८ बल, सोमपाल कामी २ रन ३ बलमा आउट भए । एक जनाले मात्रै होइन ६ जनाले १० रनसमेत नसकेपछि यूएई जस्तो टिमविरुद्ध जितको आशा गर्नु व्यर्थ नै थियो । दीपेन्द्रसिंह ऐरीले ओमानबाटै ६ बलमा ६ छक्का प्रहार गरेर विश्व कीर्तिमान माय गरे ।
यो कुनैपनि क्रिकेटरका लागि अविश्वशनीय प्रर्दशन थियो । तर आज तिनै दिपेन्द्र यूएईका बलर आयान अफजल खानबाट एलबीडब्ल्यू भए । आजको खेल उनका करिअरकै लागि विर्सिन लायक खेल बनेको छ । आज नेपालको इज्जत जोगाउने काम ५० रन जोडेका सन्दीप जोरा , २० रन जोडेका गुल्सन झा र बलर भएर पनि १७ रन जोडेका करण केसीले मात्रै गर्न सके ।
अब सेमिफाइनलमा पराजित भएको नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश हुनेछन् । इमर्जिङ टिम्स एसिया कपमा यी पाँच टेस्टका ए टोलीसँग खेल्ने अवसर हुनेछ । नेपाल तेस्रो हुन् सके इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।