७ वैशाख, काठमाण्डौ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने ६ जनालाई धरौटीमा छाडेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै,६ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ । गितेन्द्रबाबु राई (जीबी)सहित अन्य फरार प्रतिवादीको हकमा कानुनबमोजिम पक्राउ पुर्जीको म्याद थप गर्ने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । १ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश आएको हो ।
उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ । आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।
प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने सूचना अधिकारी मरासिनीले जानकारी दिए । प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानमा सहकारीका संस्थापक जीवी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईँ पाण्डे, भविश्वर अर्यालसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिल कार्यालयलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सोही अनुसार सोमबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा २८ जनाबाट ९८ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा निता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राज भण्डारीलाई प्रतिवादी बनाउन सुझाव दिएको थियो।
अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्। प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष थियो ।
यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिपेश पुनलाई काठमाडौं ल्याउने तयारी गरेको छ । अदालतको आदेशसँगै सीआईबीले पुनलाई सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याउने तयारी गरेको हो । सीआईबीले तीन दिनअघि नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको थियो ।
सुन तस्करी जाँचबुझ आयोगले पुनमाथि समेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएपछि उनीमाथि सीआईबीले अनुसन्धान गर्न लागेको हो ।गएको साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनको भूमिका समेत शंकास्पद देखिएपछि सीआईबीले कागज गरेर उनलाई छोडेको थियो ।