१२ वैशाख ,एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो दिल्लीको घरेलु मैदान हो । जारी आईपीएलमा दिल्ली र गुजरात दुबैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलिएको आठमध्ये चारमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।
गुजरात आठ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । सन् २०२२ को विजेता गुजरातले जारी आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र पञ्जाब किङ्सलाई हराएको छ । गुजरातको टोली चेन्नई सुपर किङ्स, पञ्जाब किङ्स, लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीले भने यसअघि खेलिएको आठमध्ये तीन खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ ।
दिल्लीको टोली पञ्जाब किङ्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।दिल्ली क्यापिटल्सले यो सिजनको इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स, लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सलाई भने पराजित गरेको छ । दिल्ली क्यापिटल्स ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
जारी सिजनको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि यी दुई टोलीबिच खेलिएको पहिलो खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले हराएको थियो । आजको खेलमा गुजरात टाइटन्स दिल्लीसँग यसअघि घरेलु मैदानमा भोगेको नमिठो हारको बदला लिने धुनमा रहने छ ।
अर्कोतिर, दिल्ली भने आफ्नो घरेलु मैदानमा पनि गुजरातलाई हराएर मनोबल उच्च बनाउने योजना बुन्न देखिन्छ ।इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच हालसम्म कुल चार खेलमात्र खेलिएको छ । त्यसमध्ये दुई खेलमा दिल्लीले गुजरातलाई हराएको थियो । बाँकी दुई खेलमा भने गुजरातले दिल्लीलाई पराजित गरेको छ ।
यसैबीच मार्कस स्टोइनिसले कीर्तिमानी अविजित १२४ रनको शतकीय योगदान दिँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।
गएरातिको खेलमा मार्कस स्टोइनिसले चेन्नईविरुद्ध बनाएको १२४को स्कोर आईपीएलमा रन पछ्याउँदा कुनै पनि ब्याटरले बनाएको यो सर्वाधिक स्कोर हो । यसअघि पञ्जाबका पाउल वल्थातीले सन् २०११ मा चेन्नईविरुद्ध नै १ सय २० रन बनाएका थिए ।