२० वैशाख , काठमाण्डौ ।
नेपालले १० वर्षपछि खेल्न लागेको टी २० विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । कप्तान रोहित पौडेललको कप्तानीमा घोषणा गरिएको टिममा केही नयाँ खेलाडीहरुलाई पनि विश्वकपमा अवसर दिइएको छ । क्यानले सामाजिक संजालमा १५ सदस्यीय टिमको स्क्वाड सार्वजनिक गरेपछि धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले सन्दीपको खोजी गरे ।
नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपु¥याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु स्वभाविक हो । तर अदालतबाट दोषी ठहरसहित जेल सजाय तोकिएपछि क्यानबाट निलम्बनमा परेका सन्दीप विश्वकप खेल्ने टिममा समावेश हुने संभावना थिएन ।
क्यानले टिम घोषणा गरेपछि उनका समर्थकहरुले उनको खोजी गरिरहदा सन्दीपले भने सामाजिक संजालमा आफ्ना निराशाजनक भावना अभिब्यक्त गरेका छन् । लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।
नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । अदालतबाट दोषी ठहरभएपछिपनि अदालतमा अझै जारी विचाराधीन मुद्धाका कारण सन्दीप टिममा परेनन् । तर अदालतबाट पक्षमा फैसला भए सन्दीपले अभैm पनि विश्वकपमा खेल्न पाउने संभावना भने रहेको छ ।
उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि विश्वकप खेल्न सक्ने अवस्था रहन्छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ । क्यानले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ ।
ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ ।