२९ वैशाख , एजेन्सी ।
कुवेतमा संसद विघटन भएको छ । कुवेती अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गरेका हुन् । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गरेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही धारा निलम्बन गरेको सम्बोधनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्नेछ । खाडीको देश कुवेत पछिल्लो समय कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । देश बचाउन कठोर निर्णय लिएको अमिर शेख मिशलले बताए । ’कुवेत, हालै केही कठिन समयबाट गुज्रिरहेको छ । देश बचाउन र यसको उच्चतम हितहरू सुरक्षित गर्न कठिन निर्णय गर्न हिचकिचाहट वा ढिलाइको लागि कुनै ठाउँ छोडिन्न,’ अमिरले भनेका छन् ।
उनले देश बचाउन कठोर निर्णय लिएको बताएका छन् । ’हामीले असह्य कठिनाइ र अवरोधहरूको सामना ग¥यौं। केहीले अमिरको शक्तिको मूल भागमा हस्तक्षेप गर्नसम्म पुगेका छन्,’ उनले सम्बोधनमा भनेका छन् । अमिरका लागि सुरक्षित रहेको युवराज छनोटमा समेत केहीले हस्तक्षेप गर्न चाहेको बताएका छन् ।
’विगतका वर्षहरूमा देशले अनुभव गरेको अस्वस्थ वातावरणले भ्रष्टाचार फैलाउन प्रोत्साहित गरेको छ । भ्रष्टाचार राज्यका अधिकांश क्षेत्रमा पुगेको छ,’ अमिरले भनेका छन् । हालै चुनाव भएयता निर्वाचित संसद र नियुक्त प्रधानमन्त्रीबीचको तनावले सरकार गठन ठप्प भएको छ । अप्रिल ४ तारिखमा भएको चुनावमा अघिल्लो संसदका ४६ सदस्यमध्ये ३९ जनाले आफ्नो सिट कायम राखेका थिए ।
कुवेतको संविधानअनुसार चुनाव भएको दुई हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ । शेख मेशलले अप्रिल १५ तारिख अर्थात् वैशाख ३ मा शेख अहमद अब्दुल्लाह अल अहमद अल सबालाई प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठनको आह्वान गरेका थिए ।