२९ वैशाख , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शीर्ष स्थानको कोलकाता नाइट राइडर्स र प्रतियोगिताको दौडबाट बाहिरिसकेको मुम्बई इन्डियन्स खेल्दैछन् । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
मुम्बई १२ खेलमा ८ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । मुम्बई यसअघि नै प्लेअफ दौडबाट बाहिरीसकेको छ । नवौँ स्थानको मुम्बईलाई आजको खेलमा हराउन सकेमा कोलकाता प्लेअफमा पुग्नेछ । यो सिजन कोलकाता र मुम्बईबिचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।
आज कोलकाताको सिजनको १२ औँ खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ । यद्यपी मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबिच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् । दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका छन् ।
यसमध्ये मुम्बईले ७ पटक जितेको छ भने केकेआरले ३ पटक मात्रै जितेको थियो । कोलकातामा आज पानी पर्ने सम्भावना छ । बिहान केही स्थानमा हावाहुरी र दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । दिनभर मौसम बदली रहनेछ । वर्षाको सम्भावना ८० प्रतिशत छ । तापमान २६ देखि ३२ डिग्री सेल्सियस बिच रहन सक्छ ।
आईपीएल क्रिकेटमा गएराति भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहज जित निकालेको हो । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कका साथ चौथो स्थानमा छ ।