आईपीएलको प्लेअफमा बैंगलुरु कि दिल्ली ? आज भिड्न्त

३० बैशाख ८१, आइतबार
Share this
722shares

३० वैशाख , एजेन्सी ।

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । उक्त खेल दिउँसो ३ः ४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ । आइतबारको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेलिने छ ।

उक्त खेल बैंगलुरुस्थित एम। चिन्नास्वामी स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरु र दिल्ली दुवैले आफ्नो १३ औँ खेल खेल्न लागेका हुन् । जारी सिजनको आईपीएलमा दिल्ली र बैंगलुरु पहिलो पटक आपसमा भिड्न लागेका हुन् । दिल्लीले यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।

Advertisement

दिल्ली १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । बैंगलुरुले भने यसअघि खेलिएको १२ मध्ये पाँच खेलमा जित सातमा हारको नतिजा निकालेको छ । बैंगलुरु १० अङ्कसहित तालिकाको सातौँ स्थानमा आसीन छ । सिजनको अत्यन्तै निराशाजनक सुरुआत गरेको बैंगलुरुले पछिल्लो चरणमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

दिल्ली र बैंगलुरु दुबैका लागि आइतबारको खेल निकै महत्त्वपूर्ण छ । प्रतियोगिता उत्तरार्धतर्फ अघि बढिरहँदा यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । आइतबारको खेलमा पराजित भए दुवै टोलीका लागि अगाडिको यात्रा निकै कठिन बन्नेछ । इन्डियन प्रिमियर लिगको इतिहासमा हालसम्म रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच कुल ३० खेल खेलिएको छ ।

Advertisement

त्यसमध्ये १८ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । ११ खेलमा भने दिल्लीले बैंगलुरुलाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यसैबीच दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त एक खेलको प्रतिबन्धमा परेका छन्।

७ मेमा दिल्लीमा भएको राजस्थान रोयल्सविरुद्धको खेलमा दिल्लीले निर्धारित समयमा २० ओभर पूरा गर्न सकेको थिएन। त्यसैले पन्तलाई स्लो ओभर रेटका कारण प्रतिबन्ध लगाइएको हो। बेंग्लुरुविरुद्धको खेलमा पन्तले खेल्ने छैनन्। टोलीका मुख्य प्रशिक्षक रिकी पोन्टिङका अनुसार यस खेलमा अक्षर पटेल दिल्लीको कप्तानी गर्नेछन्।

आईपीएल नियमअनुसार प्रत्येक टोलीलाई २० ओभर पूरा गर्न ८५ मिनेट (४.२८ मिनेट÷ओभर) दिइएको छ। तर, दिल्लीले राजस्थानविरुद्ध ११७.८२ मिनेट लिएको थियो। यसबाहेक पन्तलाई ३० लाख भारू जरिवाना गरिएको छ भने इम्प्याक्ट खेलाडीसहित दिल्ली इलेभेनका अन्य खेलाडीले पनि १२ लाख भारू या म्याच फीको ५० प्रतिशत जरिबाना तिर्नुपर्नेछ। आईपीएलको यो सिजन पन्तको यो तेस्रो स्लो ओभर रेट हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top