३१ वैशाख , एजेन्सी ।
युक्रेनले रुसको आवासीय क्षेत्रमा आइतबार मिसाइल आक्रमण गरेको छ । सो मिसाइललाई रुसले जमिनमा गिराउने क्रममा त्यसका टुक्रा रुसको बेलगोरोडस्थित एक अपार्टमेन्टमा खस्दा १५ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । रुसी अधिकारीका अनुसार, युक्रेनले अहिलेसम्म गरेको सबैभन्दा घातक उक्त आक्रमण हो ।
त्यसमा टोच्का ब्यालिस्टिक मिसाइल तथा अड्लर र आरएम–७० भम्पायर समेत सामेल थिए । घटनाको फुटेजमा भवनका १० तला भत्किएको देखिन्छ । छाना खसेपछि मानिस भागेका थिए । उनीहरूका पछाडि धुलो र भवनका चोइटा आइपुगेका थिए । रुसी रक्षा मन्त्रालयले उक्त हमलालाई आवासीय क्षेत्रमा गरिएको आतंककारी आक्रमण भनेको छ ।
घटनामा एक बालक हराइरहेको रुसी अधिकारीहरूले बताएका छन् । रुस र युक्रेन दुवैले सर्वसाधारण नागरिकलाई लक्षित गरी कुनै आक्रमण नगर्ने जनाउँदै आएका थिए । उक्त घटनाका बारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि ‘ब्रिफिङ’ गरिएको छ । क्रेमलिनले घटनालाई बर्बर भनेको छ । युक्रेनले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री परिवर्तन गर्न लागेका छन् । युक्रेनसँग जारी युद्धका बीच पुटिनले यो कदम चाल्न लागेका हुन् । बीबीसीका अनुसार राष्ट्रपति पुटिनले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ६८ वर्षीय सर्गेई शोइगुको सरुवा गर्न लागेका हुन् । अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् ।
राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्त्वपूर्ण भूमिका छ । रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले शोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिन चाहेको खुलासा भएको छ ।
शोइगुलाई पुटिनको नजिक मानिन्छ, जसलाई कुनै सैन्य अनुभवबिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । शोइगु पेसाले सिभिल इन्जिनियर हुन्। सन् १९९० मा शोइगु आपत्कालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए । राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौँपटक पद तथा गोपनीयताको शपथ खाएका छन् ।