५ जेठ, काठमाण्डौ।
गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् । कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं र केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पटाक्षेप भएको थियो ।
पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनीहरुको जिम्मेवारी खोसिएको थियो । बढुवा सिफारिस सूचीको चौथो नम्बरमा रहेका अधिकारी पनि प्रहरीभित्रका इमान्दार र व्यवसायिक अधिकृत मानिन्छन् । अहिले तीन डीआईजीको दरबन्दी रिक्त छ । तर, १० जेठमा डीआईजी सुरेन्द्र मनौलीले उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले रिक्त हुने दरबन्दीलाई मध्यनजर गरेर चार जनालाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।
डीआईजीमा बढुवाका लागि २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका चार ब्याचका एसएसपीहरू प्रतिस्पर्धामा थिए । तर, २०५२ मा प्रहरी निरीक्षक भएका शर्मासँगै २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन् । योसँगै २०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका एसएसपीहरूको टोली भने बढुवामा छुटेको छ ।
डीआईजीमा बढुवाका लागि एसएसपीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्दलगायत प्रतिस्पर्धामा थिए । प्रहरी प्रधान कार्यालयले भने प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको जनाएको छ ।