६जेठ, एजेन्सी ।
टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा पराजित भएको छ । सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले शनिबार विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो ।
कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए । ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । विनवार्ड्सका डैरोन नेड र कभेम होजले समान ३ र निकलस रेडहेड र डिन ब्राउनले समान २ विकेट लिए । त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २ सत ५ रन बनायो ।
डिलनले ३२ बलमा ५६ रन बनाए । शाद्रकले २७ बलमा ५५ रन जोडे । नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए । तेस्रो खेलमा नेपालले अघिल्लो टोलीमा रहेका ३ खेलाडी परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।
पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । अब नेपाली टोली अमेरिका फर्किनेछ । ह्युस्टनमा मे २२ र २३ मा २ अभ्यास खेलपछि टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा आइसीसीले तय गरेको वार्मअप म्याच खेल्नेछ।
त्यसपछि जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । विश्वकपमा नेपालले समूह चरण पार गर्ने लक्ष्य बनाएको छ । समूह डी मा रहेको नेपालले समूह चरणमा नेदरल्याण्ड्ससहित बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्नेछ ।