२४ कार्तिक , काठमाण्डौ।
आफ्ना सामाजिक संजालका सामान्य स्टाटसबाटै विश्व हल्लाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको र मृत्युपछि स्वर्ग जाने आशा राखेको बताएका छन्। तर स्वर्ग जानका लागि आफ्ना राजनीतिक विरोधीलाई माफ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्ने उनको भनाइ छ ।
सीबीएसको चर्चित कार्यक्रम ‘६० मिनेट्स’ मा पत्रकार रस डाउथटसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन्। ट्रम्पले विगतदेखि नै आफूले विभिन्न देशका ८ युद्ध अन्त्य गरेको भन्दै पटक पटक विश्व शान्तिकै लागि नोबेल शान्ति पुरस्कार दिनु पर्ने माग गर्दै आएक ट्रम्पलाई नोबेल कमिटिले भने नोबेल शान्ति पुरस्कारका लागि अझै उपयुक्त मानेको छैन् ।

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक–पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए। जवाफमा ट्रम्पले भने, ‘मलाई आशा छ, मेरो अभाव महसुस गरिनेछ।’ पत्रकारले प्रश्नको आशय स्पष्ट पारेपछि ट्रम्पले आफू धार्मिक व्यक्ति भएकाले सैद्धान्तिक रूपमा स्वर्ग जाने विश्वास राख्ने बताए। उनले भने, ‘म धार्मिक व्यक्ति हुँ, त्यसैले सिद्धान्ततः म स्वर्ग जान्छु। मलाई आशा छ, त्यस्तै होस्। म नर्क जान चाहन्नँ।’
त्यसपछि डाउथटले स्वर्ग जानका लागि आफ्ना राजनीतिक विरोधीलाई समेत माफ गर्न सक्नुहुन्छ कि भनेर ट्रम्पलाई सोधे। उनले जेम्स कोमी र न्यान्सी पेलोसीजस्ता राजनीतिक व्यक्तित्वलाई माफ गर्न सक्नेबारे सोधेका थिए। जवाफमा ट्रम्पले भने, ‘सत्य भन्नुपर्दा, सक्दिनँ।’ थप प्रश्न गर्दा उनले हो भन्नु सजिलो जवाफ हुने भए पनि आफूले त्यसो गर्न नसक्ने बताए। उनले भने, ‘म सायद त्यसो गर्न सक्दिनँ । किनकि म मेरा केही शत्रुलाई घृणा गर्छु र सधैं गरिरहनेछु।’
अन्तर्वार्ताका क्रममा ट्रम्पले अज्ञात उड्ने वस्तु (यूएफओ) बारे पनि कुरा गरेका थिए। उनले पहिलो र दोस्रो कार्यकालमा अमेरिकी वायुसेनाका अनुभवी पाइलटहरूसँग भेटेको र उनीहरूले आफूलाई अनौठा अनुभव सुनाएको बताए। ‘म यस्ता कुरामा धेरै विश्वास गर्दिनँ। तर मैले ओभल अफिसमा वायुसेनाका पाइलटहरूसँग भेटेको छु। उनीहरू षड्यन्त्रका कुरा गर्ने व्यक्ति होइनन्। उनीहरू उत्कृष्ट पाइलट हुन् र उनीहरूले मलाई निकै अनौठा कुरा सुनाएका छन्,’ ट्रम्पले भने।
उनले ती पाइलटहरूको शारीरिक बनावट र कपालको शैलीको समेत प्रशंसा गर्दै आफूलाई पनि उनीहरूजस्तै कपाल काट्न मन लागेको बताएका थिए। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफू स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति भएको दाबी गरेका थिए । आफ्नो बारेमा आलोचना गरिएको पुस्तक सार्वजनिक भएपछि ट्रम्पले मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्ति भएको उल्लेख गरेका थिए ।
उनले रुससँग जोडिएका अनुसन्धानहरु पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्रयाटहरुले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिन्ह उठाएको बताए । ट्रम्प असक्षम राष्ट्रपति भएको भन्दै तीव्र आलोचना गरिएको माइकल वूल्फको फायर एण्ड फ्युरी पुस्तक सार्वजनिक भएको थियो ।
पुस्तकका लेखक वूल्फले, पुस्तकले राष्ट्रपति ट्रम्पलाई पदत्याग गर्न बाध्य तुल्याउने दाबी गरेका छन् । ट्रम्पका वकिलहरुले फायर एण्ड फ्युरी पुस्तक प्रकाशनमा रोक लगाउने कोसिस गरेका थिए । पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् ।
ट्रम्पले आफ्नो आलोचना गरिएको पुस्तकलाई कथाको संज्ञा दिने गरेका छन् । राष्ट्रपति चुनावका दौरानदेखि उनको महिलासँगको सम्बन्ध र महिलामाथिको दुव्र्यवहारको विषय चुनौती बन्दै अबउके छ । विगतको बोलीका कारण उनले पटक–पटक माफी नै माग्नुपरेको छ भने महिला हिंसाको आरोपका मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन् ।
मृत्युपछि स्वर्ग र नर्क हुन्छ भन्ने उनको विश्वास व्यक्तिगत आस्थाको विषय हो। प्रत्येक व्यक्तिलाई आफ्नो धर्म र विश्वास राख्ने स्वतन्त्रता छ। तर धार्मिक हुनु र धार्मिक मूल्यअनुसार व्यवहार गर्नु दुई फरक कुरा हुन्। स्वर्ग जाने इच्छा राख्नु एउटा विषय हो भने आफ्नो जीवनमा गरेका कामको नैतिक जिम्मेवारी लिनु अर्को विषय हो।
ट्रम्पको अभिव्यक्तिमा सबैभन्दा चासोको विषय आफ्ना राजनीतिक विरोधीलाई माफ गर्न नसक्ने स्वीकारोक्ति हो। उनले जेम्स कोमी र न्यान्सी पेलोसीजस्ता व्यक्तिलाई माफ गर्न नसक्ने बताए। अझ आफ्ना केही शत्रुलाई घृणा गर्ने र सधैँ गरिरहने अभिव्यक्ति दिए।
धार्मिक आस्थाले क्षमा, करुणा, सहिष्णुता र मानवताको कुरा गर्छ। तर ट्रम्पको अभिव्यक्तिमा क्षमाभन्दा प्रतिशोध र घृणाको भावना बढी देखिन्छ। अरूलाई क्षमा गर्न नसक्ने व्यक्तिले आफूलाई धार्मिक र स्वर्गको हकदार ठान्नु आफैँमा गम्भीर नैतिक प्रश्न हो।
ट्रम्पको राजनीतिक जीवन पनि विवादरहित छैन। उनको नेतृत्व, निर्णय र नीतिका कारण विभिन्न देशमा मानवीय तथा राजनीतिक प्रभाव परेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी युद्ध, सैन्य हस्तक्षेप, आप्रवासन नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा उनले लिएका कतिपय निर्णय विवादको विषय बनेका छन्।
उनको कार्यकाल र राजनीतिक प्रभावलाई लिएर विश्व समुदाय विभाजित छ। उनका समर्थकले उनलाई अमेरिकी हितको पक्षमा कडा निर्णय लिने नेता मान्छन् भने आलोचकहरूले उनको नीतिले अन्तर्राष्ट्रिय तनाव र मानवीय संकट बढाउन सक्ने चिन्ता व्यक्त गर्छन्।
इरानसँगको तनाव र सैन्य कारबाहीसम्बन्धी निर्णय पनि उनको विदेश नीतिको आलोचनाको महत्त्वपूर्ण विषय हो। कुनै पनि सैन्य आक्रमणको परिणाम केवल राजनीतिक नेताहरूको वक्तव्यमा सीमित हुँदैन। त्यसको असर सर्वसाधारण नागरिक, बालबालिका, महिला, वृद्धवृद्धा र भविष्यका पुस्तासम्म पुग्छ।
युद्धमा ज्यान गुमाउने मानिसहरू कुनै राजनीतिक निर्णयका निर्माता हुँदैनन्। उनीहरू आफ्नो परिवारसँग शान्तिपूर्ण जीवन बिताउन चाहने सामान्य नागरिक हुन्छन्। त्यसैले शक्तिशाली राष्ट्रका नेताले सैन्य शक्ति प्रयोग गर्दा त्यसको मानवीय मूल्य र परिणामबारे गम्भीर हुनुपर्छ।
ट्रम्पमाथि मानवताविरोधी निर्णय लिएको, आप्रवासीप्रति कठोर व्यवहार गरेको र अन्तर्राष्ट्रिय मानवीय संकटलाई बेवास्ता गरेको आरोप पनि लाग्दै आएको छ। यस्ता आरोपको मूल्याङ्कन प्रमाण, निर्णय र तिनका वास्तविक परिणामका आधारमा हुनुपर्छ।
तर एउटा कुरा स्पष्ट छ, विश्वको शक्तिशाली राष्ट्रको नेतृत्व गर्ने व्यक्तिको प्रत्येक निर्णयले लाखौँ मानिसको जीवनमा प्रभाव पार्न सक्छ। त्यसैले राष्ट्रपतिको जिम्मेवारी केवल आफ्नो देशको राजनीतिक स्वार्थ पूरा गर्नु मात्र होइन, विश्व शान्ति र मानवताको संरक्षणमा पनि योगदान पु¥याउनु हो।
ट्रम्पको अर्को विरोधाभास उनको क्षमा र घृणासम्बन्धी अभिव्यक्तिमा देखिन्छ। उनी आफ्ना विरोधीलाई माफ गर्न नसक्ने बताउँछन्, तर आफूलाई धार्मिक व्यक्ति मान्छन्। धर्मको सार केवल पूजा, प्रार्थना र स्वर्गको कामना गर्नु होइन। धर्मले मानिसलाई अरूको पीडा बुझ्न, गल्ती स्वीकार गर्न, अन्याय नगर्न र कमजोरको पक्षमा उभिन पनि सिकाउँछ।
आफूलाई धार्मिक ठान्ने व्यक्तिले आफ्नो व्यवहारमा पनि त्यस्ता मूल्य देखाउन सक्नुपर्छ। एउटा महत्त्वपूर्ण प्रश्न भनेको चाँही स्वर्ग जाने चाहना राख्ने व्यक्तिले पृथ्वीलाई कस्तो बनाउने प्रयास गरिरहेको छ भन्ने हो । आफू मरेपछि आफ्नो अभाव महसुस गरियोस् भन्ने चाहना राख्ने ट्रम्पले जीवित मानिसहरूको पीडा र अभावलाई कति महत्त्व दिएका छन् ?
शक्तिमा रहँदा लिइएका निर्णयले कसैको परिवार उजाडिएको छ भने त्यसको नैतिक जिम्मेवारी कसले लिने ? स्वर्ग र नर्कको अस्तित्वबारे संसारका धर्म र दर्शनमा फरक–फरक विश्वास छन्। कसैले मृत्युपछिको जीवनमा विश्वास गर्छन् भने कसैले गर्दैनन्।
तर मृत्युपछिको स्वर्गको चिन्ताभन्दा जीवित मानिसका लागि पृथ्वीलाई स्वर्गजस्तो बनाउने प्रयास बढी महत्त्वपूर्ण छ। मानिसलाई मारेर, समाजलाई विभाजित गरेर, घृणा फैलाएर वा युद्धको वातावरण सिर्जना गरेर स्वर्गको कामना गर्नु नैतिक रूपमा विरोधाभासपूर्ण देखिन्छ।
ट्रम्पलाई स्वर्ग जान्छु भन्ने विश्वास राख्ने अधिकार छ। तर उनको धार्मिक विश्वासको वास्तविक परीक्षा अन्तर्वार्तामा बोलेका शब्दले होइन, उनले गरेका काम र त्यसबाट प्रभावित मानिसको जीवनले गर्नेछ। इतिहासले पनि कुनै नेतालाई उसले आफूलाई के भन्यो भन्ने आधारमा होइन, उसले मानवता, शान्ति र न्यायका लागि के ग¥यो भन्ने आधारमा मूल्याङ्कन गर्नेछ।
मृत्युपछि स्वर्ग पाइन्छ कि पाइँदैन भन्ने कुरा आस्थाको विषय होला, तर जीवित मानिसलाई पीडा नदिने र मानवताको रक्षा गर्ने जिम्मेवारी भने हरेक शक्तिशाली नेताको हो। ट्रम्पले पनि आफूलाई धार्मिक व्यक्ति प्रमाणित गर्न चाहन्छन् भने उनको व्यवहारमा क्षमा, करुणा र मानवताको प्रतिबिम्ब देखिनु आवश्यक छ।
किनकि स्वर्गको सपना देख्नुअघि पृथ्वीमा मानिसको जीवन नर्क नबनाउने जिम्मेवारी सबैभन्दा ठूलो हो।



