२४ कार्तिक , काठमाण्डौ।
उज्यालोको पर्व तिहार जारी छ । यतिबेला घरघरमा, पसल–व्यवसाय, कार्यालय, बजार जताततै बत्तिको झिलिमिलीले धपक्कै बलेको छ । केराको थम्बा र सयपत्रीसहितका फुलहरुले गाउँशहर, सडक–चोकहरुसमेत सिंगारिएका छन् । अनि परम्परागत परिकारको स्वाद र सुगन्ध हावामा नै मिसिएजस्तो भान भइरहेको छ ।
त्यसमाथि देवी लक्ष्मीसहित पशुपक्षीदेखि दाजुभाइ पुज्ने यो पर्वको रौनकता नै बेग्लै छ । तर यही पर्वमा पटाका पड्काइने, त्यसको ककर्श र ठूलो ध्वनीले सिंगो गाउँटोल थर्किरहँदा त्यसबाट निस्कने हानिकारक धुवाँ, यत्रतत्र छरिएका त्यसका फोहोरले हाम्रो मौलिक चाडलाई नै प्रदुषित र दुर्घटनाको कारण बनाइरहेका छन् ।

हुन त हाम्रा बालबालिकाहरूले रमाइलो गर्दै पटाका पट्काइरहेका छन् । तर अन्जानमा उनीहरु ठुलो जोखिमसंग खेलिरहेका छन् । अनि अभिभावकहरुले पनि यसलाई रोक्नुको साटो उल्टै साथ दिइरहेका छन् । तर यहाँनिर हामीले बुझ्नु पर्ने कुरा के हो भने, कानुनअनुसार पटाका किनबेच र पडकाउने कार्य गैरकानुनी हो ।
यस्तै यसपाली पनि नेपाल प्रहरीले पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै तिहारमा पटका तथा आतीसबाजी नगर्न नागरिकसँग अनुरोध पनि गरेको छ । पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले उक्त आग्रह गरेको हो ।
बालबालिकाका हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीहरूलाई यस्ता वस्तुबाट टाढा राख्नाका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउन प्रहरीको अनुरोध छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि पटाका, आतिसबाजी जस्ता विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अन्य पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भनेको छ,‘पटाका, आतिसबाजी, भुईंचम्पा, रकेट, विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अन्य पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्ने।’
यस्तै, जिल्ला प्रशासन कार्यालयले देउसी–भैलो कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, झैझगडा गर्ने वा सार्वजनिक शान्ति सुरक्षामा खलल पुरÞ्याउने कार्य नगर्न पनि आग्रह गरेको छ।
देउसी–भैलो खेल्ने क्रममा सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन एवं पैदलयात्रीलाई बाधा पुग्ने गरी कार्यक्रम सञ्चालन नगर्ने आग्रह गरेको छ । ‘देउसी–भैलोका नाममा सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुहरूलाई जबरजस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्ने कार्य नगर्ने,’सूचनामा उल्लेख छ ।
यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताको परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने पनि व्यवस्था छ।
उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’ सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ ।
उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । (ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। यहीअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
यसैबीच गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम भने २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबारको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन अनुरोध गरेको हो ।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पारेको छ । कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने निर्देशन दिँदै विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका अश्लील नृत्य, गीत, सङ्गीत तथा नाराको प्रयोगमा रोक लगाउन भनेको छ ।
त्यसैगरी, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन नचलाउन आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले अत्यधिक ठुलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्न पनि सबैलाई सचेत गराइएको छ ।
गृह मन्त्रालयले देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई सूचित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ ।



