१७ वैशाख ,काठमाण्डौ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो बुधबार मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन् ।
त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको बताएका छन् । स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि उनी बिरामी भएका थिए ।
त्यसपछि उनलाई जेठ ११ गते साँझ जनकपुरमै रहेको काव्य अस्पतालमा भर्ना गरिएको थियो । तर त्यस अस्पतालले रेफर गरेपछि सिरोहियालाई गत मंगलबार हेलिकप्टरबाट काठमाडौँ ल्याई मेडिसिटी अस्पताल (ललितपुर) भर्ना गरिएको छ । त्यहाँ उपचार जारी रहेकै बेला उनलाई बुधबार हाजिरी जमानीमा छाडिएको हो ।
१७ वैशाखमा दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई सहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा शृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै विपक्षी दलले सरकारमाथि प्रश्न उठाएका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त प्रधानमन्त्रीलाई भेटेरै सिरोहिया प्रकरणमा ध्यानाकर्षण गराएको थियो ।