विराटनगर : सुनसरी हरिनगरा–३ महानन्द साहको हत्या अभियोगमा तीन जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका – ३ बस्ने धनापाल सरदार, उनका छोरा बाबुचन सरदार र छिमेकी विनोद सरदार रहेका छन् ।
गत भदौ २२ गते राती बुढीगंगा गाउँपालिका –१ स्थित कोशी राजमार्गमा घाईते अवस्थामा भेटिएका साहको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
घाईते साहलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो ।
पहरीका अनुसार पक्राउ परेका धनपाल सरदारको होटलमा मादक पदार्थ सेवन गरी विवाद हुँदा तीन जना मिलेर साहलाई कुटपिट गरेका थिए ।
त्यसपछि उनलाई सिटी रिक्सामा हालेर कोशी राजमार्गमा ल्याएर छोडेको खुलेको प्रहरीले जनाएको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।