आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

१२ असार ८१, बुधबार

१२ असार , विराटनगर ।

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ । नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–सान नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको छ।

Advertisement

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा, सल्यान, रुकुम–पूर्व, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स–साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यता, आगामी ३ दिन कोशी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरुण, तामाकोशी, दुधकोशी, सुनकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुने भएपनि बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

Advertisement

नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्याङ्दी, कालीगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ।मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने बताएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top