नेताका कुरा कसरी पत्याउनु ? ओलीले भनेका थिए प्रधानमन्त्री बन्दिन्

१८ असार ८१, मंगलबार

१८ असार,काठमाण्डौ।

Advertisement

शनिबार बालकोट पुगेर प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भईसकेको थियो । सोही भेटलाई लिएर प्रधानमन्त्रीले समेत पटक पटक ओलीसँग संवाद गरे । जहाँ ओलीले सरकार परिवर्तनबारे प्रचण्डलाई कुनै जानकारी दिएनन् ।

यसैले त सरकारकी प्रवक्ता रेखा शर्माले समेत सरकार परिवर्तनको हल्ला मात्रै भएको बताइन् । एमाले र कांग्रेस नेताहरुले समेत सरकार परिवर्तनको कुनै संभावना नरहेको सार्वजनिक रुपमा बताए । अरु त अरु स्वयम ओलीले समेत तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका थिए ।

Advertisement

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताएका थिए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भनेका थिए ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।

अघिल्लो दिन यस्तो प्रतिक्रिया दिएका ओलीले मध्यरातमा आफै प्रधानमन्त्री हुने गरी काग्रेससँग सहमति गरेका छन् । अब पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मध्यरातमा भएको सहमति तोडिएन भने त्यही सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन् ।

Advertisement

उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । र, झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो । तर, आलोपालोको सहमति कार्यान्वयन भएन । बरु, नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो ।

लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला ग¥यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए । ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पु¥याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए । त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा प¥यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी ग¥यो । ओली त्यसबेला दुई महिना प्रधानमन्त्री भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top