२० असार, काठमाण्डौ ।
नेकपा (एकीकृत समाजवादी) को जारी दशौं महाधिवेशनअन्तर्गत् आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुँदैछ । निर्वाचन समितिले आज बिहान ८ बजेबाट मनोनयन फारम बाँड्ने तयारी गरेको थियो । तर सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया ढिलो सुरू हुने भएको छ । एकीकृत समाजवादीले २० पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ ।
यसका अतिरिक्त ४५ वर्ष मुनि उमेर समूहकालाई २० प्रतिशत प्रतिनिधित्व गराइँदैछ । बुधबार राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार रहेका छन् ।
यस अघि नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबी गरेकोमा अहिले भने उनी पछि हटेका छन् । महाधिवेशनको बन्दसत्रमा धेरै जसो प्रतिनिधिले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोराएर नेतृत्व दिने सुझाव दिएपछि दुवैलाई सहमतिमै नेतृत्व चयन गर्न दबाब बढाइएको छ । पार्टीका दोस्रो तहका नेताहरुले नेपाल र भुसालबीच सहमति गराउने प्रयास गरिरहेको बताइएको छ ।
भुसालले भने अध्यक्ष नभए वरिष्ठ उपाध्यक्षको दाबी गरेका छन् । बुधबार राति महाधिवेशनको हल प्रज्ञा भवनमा तीन नेता, अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालबीच लामै संवाद भएको थियो । अध्यक्ष नेपालले आफ्नो नेतृत्व मानेर जान आग्रह गरेका थिए ।
उनले भूसाललाई वरिष्ठ उपाध्यक्ष अथवा महासचिवमध्ये रोजेर लिन र सहमतिको वातावरण बनाउन आग्रह गरेको बताइएको छ । यसमा भूसालले मान्नेबित्तिकै नेतृत्व चयन सहमतिउन्मुख हुने प्रतिनिधिको दाबी छ । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले भुसाललाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको बताइएको छ ।
यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको बताइएको छ । महासचिव नै भए पनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने भएका छन् ।
नेकपा एसका पदाधिकारी सर्वसम्मति पछि केन्द्रीय सदस्यहरूको मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने तयारी छ । केन्द्रीय सदस्यमा भने निर्वाचन नै हुनेछ । निर्वाचन प्रयोजनका लागि ५० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिहरूले डेमोसमेत गरिसकेका छन् ।