कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२३ असार ८१, आइतबार

२३ असार, विराटनगर ।

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो । दुई दिनदेखिको अविरल वर्षाको कारण कोशी उर्लिएको हो ।

प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ७० हजार क्यूसेक पानी बगिरहेको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढिरहेको छ । यसअघि आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताएका छन् ।

Advertisement

उनले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको बताए । यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।

यस्तै अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

Advertisement

त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।a

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top