Nepal Times
Nepal Times
3
Shares

आज धेरै ठाउँमा भारी वर्षा, प्रहरी र पालिकाका कार्यालयमा पहिरो

आज धेरै ठाउँमा भारी वर्षा, प्रहरी र पालिकाका कार्यालयमा पहिरो

४ साउन ,काठमाण्डौ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । यस्तै आउँदो तीन दिनसम्म देशका प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महशाखाकाअनुसार कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको पनि जलसतह बढ्दो हुने र सतर्कता तह तलै रहने पूर्वानुमान छ । सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैबीच ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भवनमा लेदो र गेग्रानसहितको पहिरो पसेको छ ।

आज बिहान दुई बजेदेखि तीन बजेको बीचमा पहिरो खसेर गाउँपालिका भवन र प्रहरी भवनमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए । गाउँपालिका भवनभन्दा ३ सय मिटर माथिको डाँडाबाट पहिरो खसेको थियो । भट्टराईका अनुसार पहिरोले तमोर करिडोरको सडक अवरुद्ध बनेको छ भने विद्युत प्रवाह पनि रोकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.