Nepal Times
Nepal Times
3
Shares

विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो

विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो

१० साउन, काठमाण्डौ ।
बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् । यसैबीच दुर्घटनाग्रस्त विमानमा एकमात्र बाच्न सफल तर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य अहिले पनि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारारत छन् ।

शाक्यको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको अनुहारमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआई पनि गरिएको छ । त्यसको रिपोर्टमा उनको मस्तिष्क केही सुन्निएको देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

अस्पतालका अनुसार उनको मेरुदण्डको एल २ भाग भाँचीएको छ भने आठौँ, नवौँ र दशौँ गरी तीनवटा करङ भाँचिएको छ । अहिले उनलाई आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

घाइते क्याप्टेनलाई भेट्न हिजै प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए । प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए ।

जहाज दुर्घटनामा मृत्यु भएका अन्य १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । त्यसैले सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए ।

त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए । शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुन्छ । त्यसैले अत्यधिक जलेका शवको हकमा डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्ने डा.चौधरीले बताए ।

हिजो त्रिभुवन विमानस्थलको डिलमै भएको यो जहाज दुर्घटनापछि गरिने उद्धार निकै ढिला गरि भएकोमा व्यापक आलोचना भइरहेको छ । दुर्घटनाको खबर नेपाल प्रहरीले ४ मिनेटपछि मात्र पाएको देखिएको छ ।

जहाजबाट जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यको दुर्घटनापछिको २३ मिनेटमा मात्र उद्धार भएको नेपाल प्रहरीले जनाएको छ । जहाज खसे लगत्तै फायर फाइटिङ तथा रेस्क्यु टिमले रेस्पोन्स गर्न नसकेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूबाट पुष्टि हुन्छ।

जबकी त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

करिब डेढ महिनाअघि मात्रै पनि २८ जेठ २०८१ मा त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरिएको थियोे । तर काल्पनिक अभ्यास र वास्तविक घटनापछिको उद्धारमा आकाश जमिनको फरक देखियो ।

काल्पनिक अभ्यासमा ज िसजिलै उद्धार गरिएको देखिन्थ्यो वास्तविक घटनामा त्यो विल्कुल देखिएन । हिजो भएको दुर्घटनामा उद्धारको प्रयास हेर्दा सो अभ्यास निरर्थक रहेको देखिन्छ ।

हरेक वर्ष १० देखि २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यास वास्तविक दुर्घटनाका बेला जनशक्ति खरो उत्रिन र दुर्घटनामा मानवीय क्षति कम भन्दा कम गर्न सक्षम होउन भन्ने उद्देश्यले आयोजना गरिन्छ ।

तर, दोहोरिरहेका दुर्घटनाका श्रृङ्खलाले यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.