१५ साउन, एजेन्सी ।
भारतले सन् २०२५ मा पुरुष एसिया कप आयोजना गर्नेछ । प्रतियोगिताको यो संस्करण टी–२० ढाँचामा खेलाइनेछ । भारतले सन् २०२६ को टी–२० विश्वकप पनि आयोजना गर्ने छ । सन् २०१६ मा पहिलो पटक एसिया कप ट्वान्टी–२० फर्म्याटमा खेलिएको थियो । गत वर्ष सन् २०२३ मा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता आयोजना गरेको थियो ।
भारतले पाकिस्तान जान अस्वीकार गरेपछि भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएको थियो । अब अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको हो । एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टि ट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुनेछ ।
यस्तै २०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ । २०२७ मा भारतमा आयोजना हुने टि ट्वान्टी एसिया कप र २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३–१३ खेल हुनेछन् । भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । भारतले प्रतियोगिताको पछिल्ला चार संस्करणमध्ये तीनमा जितेको थियो । श्रीलंकालाई १० विकेटले हराएर भारतले पछिल्लो संस्करण जितेको थियो ।