१५ साउन,काठमाण्डौ।
प्रदेश प्रमुखहरु फेरि राजनीति परिवर्तनको शिकार बनेका छन् । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेको हो । बैठकले वाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
देवकोटा एमालेका तथा घर्ती र जोशी कांग्रेस नेता हुन । यस्तै मन्त्रिपरिषद्ले सोमबार नै २१ जना सचिवको सरुवासमेत गरेको छ । राजनीतिक समीकरण बदलिएर केपी ओलीको नेतृत्वमा सरकार बनेको दुई सातापछि एकैसाथ ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो । बैठकले अर्थसचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । उनी अर्थमा राजस्व सचिवका रूपमा कार्यरत थिए ।
राजस्व सचिवमा वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई पठाइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई पठाइएको छ । गृह मन्त्रालयमा भने एकनारायण अर्याललाई यथावत् राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मन्त्रालयमा भरत सुवेदीलाई लगिएको छ । सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा सचिवमा सरुवा गरिएको छ भने ऊर्जा आयोगका केशवकुमार शर्मा विडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रस्टमा रहेकी प्रमिला देवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका राम आधार साहलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुदन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । उनी प्राकृतिका स्रोत तथा वित्त आयोगमा थिए ।
लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । लोक सेवामा प्रधानमन्त्री कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।