२४ साउन , एजेन्सी ।
भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । ‘भारतीय दूतावासका एक अधिकारी भन्छन्, हालसम्म आउने यकिन नै छ, तर बंगलादेशको घटनाक्रमले केही तलमाथि भयो भने भ्रमण स्थगित हुनसक्छ ।
हालसम्म हेर्दा आउने देखिएको छ ।’ सचिव मिस्रीको परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै भुटानको भ्रमण गरिसकेका छन् । भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
परराष्ट्र सचिव सेवा लम्सालसँग उनको द्विपक्षीय कुराकानी हुनेछ । विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । सचिव मिस्रीलाई चीनको जानकार मानिन्छ । उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् । उनी दुई दिने भ्रमणका लागि आउँन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार उनी विदेश सचिव बनेपछि छिमेकी मुलुकहरूलाई प्राथमिकता राख्दै शिष्टाचार भ्रमणमा आएका हुन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप–राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । ५९ वर्षिय उनले सन् २०१९–२०२१ सम्म चीनका लागि भारतको राजदूतको रुपमा पनि काम गरेका थिए ।a