२९ साउन, विराटनगर । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने प्रलोभन देखाएर मानव बेचबिखनमा गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो ।
मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेलाई सोमबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार नै पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान थालिएको छ ।
ब्युरोका सूचना अधिकारी तथा एसपी गौतमका अनुसार एक महिलालाई मासिक ७० हजार कमाइ हुने र ग्रिनकार्डसमेत पाइने भन्दै मौरिसियस पुर्याएका थिए ।
आर्थिक अवस्था कमजोर भएकी ती महिलाबाट मौरिसस पुग्नका लागि भन्दै दुई लाख ५० हजार लिएका थिए । न्यौपानेले ती महिलालाई कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए ।सुरुमा उनले गत माघमा मौरिसस पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मोरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचेका थिए ।
पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पुर्याएका थिए ।
त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई ‘रिसिभ’ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएका थिए ।
मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरूप खरिद गरी ल्याएको भनी दैनिक १७-१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।
पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भने बमोजिम गर्न भनी डर-धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।
मौरिसियसमा लामो यातनापछि पीडित भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल भएकी थिइन् ।
नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको एसपी गौतमको भनाइ छ ।