२९ साउन, विराटनगर । राष्ट्रपतीय निर्वाचनमा झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
६६ वर्षीय कागामेले गत १५ जुलाईमा भएको राष्ट्रपतीय निर्वाचनमा ९९.१८ प्रतिशत मत पाएका थिए । रुवाण्डाका करिब ९० लाख जनताले कागामेको पक्षमा मतदान गरेका थिए ।
रुवाण्डाबासीले उनलाई चौथोपटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेका हुन् । यसअघि उनी सन् २००३, २०१० र २०१७ को राष्ट्रपति चुनावमा निर्वाचित भएका थिए ।
सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपिएफ) को प्रतिनिधित्व गर्ने कागामेले करिब-करिब शतप्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी रुवाण्डाको विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टीका फ्रान्क हबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानाले क्रमशः ०.५० प्रतिशत र ०.३२ प्रतिशत मत प्राप्त गरेका थिए ।
रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित एक समारोहमा शपथ ग्रहण गर्दै उनले शपथ दिनलाई नवीकरण र कृतज्ञताको दिनको रूपमा वर्णन गरे ।विगत तीन दशकमा रुवाण्डाको प्रगतिलाई प्रतिविम्बित गर्दै कागामेले अपेक्षाभन्दा धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै कागामेले विगत ३० वर्षदेखि काम अघि बढेको र अब भविष्यतर्फ पनि ध्यान केन्द्रित भएकोमा जोड दिए ।
कागामेले विशिष्ट परिस्थिति र नागरिकका अपेक्षाहरू पूरा गर्न राजनीतिक र शासन प्रणालीलाई अनुकूलन गर्ने आवश्यकतालाई विनम्र स्वीकार गर्न आह्वान गरे ।