२९ साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामीले बुधबार बिहान लिग्स कपअन्तर्गत कोलम्बससँग खेल्दै छ । अन्तिम १६ को खेलअन्तर्गत मियामीले कोलम्बससँग उसैको मैदानमा खेल्न आँटेको हो ।
नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा मियामी र कोलम्बस दुवै क्वार्टरफाइनल यात्रा तय गर्ने दाउमा हुने छन् । पछिल्लो समय इन्टर मियामी लिग्स कपको उपाधि जोगाउने अभियानमा छ । अघिल्लो सिजनको लिग्स कपको उपाधि मेस्सी, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्बा र रोबर्ट टेलरसहितको इन्टर मियामीले जितेको थियो ।
तर, मियामी अनुभवी स्ट्राइकर मेस्सीबिना मैदान उत्रिँदै छ । किनकि, चोटका कारण उनी लामो समययता मैदानबाहिर छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।
कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् । यसबीचमा मेस्सीका समर्थकले उनी कहिलेदेखि मैदान फर्किएलान् भन्ने चासो–चिन्ता गर्दै आएका छन् ।तर, इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनोलाई पनि मेस्सी कहिलेदेखि खेलमा फर्कन्छन् भन्ने विषयमा अनुमान छैन । उनी भन्छन्, ‘मेस्सी कहिले फर्कन्छन् भन्ने विषयमा म आफैं पनि अनभिज्ञ छु । हामी अधैर्यतापूर्वक उनको प्रतीक्षा गरिरहेका छौं ।’
टाटाका अनुसार मेस्सीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ । मेस्सीको अनुपस्थितिले क्लबलाई निकै अप्ठ्यारो परिरहेको टाटा बताउँछन् ।
३७ वर्षीय मेस्सीको अभाव मेजर सकर लिगतिर पनि खड्किएको छ । किनकि, अघिल्लो सिजन १४औं स्थानमा सीमित बनेको मियामी यो सिजन उपाधि जित्ने अभियानमा छ ।
एमएलएसमा अहिलेसम्म २५ खेल खेल्दा ५३ अंकसहित मियामी शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिनसिनाटीभन्दा मियामी चार अंकले अगाडि छ । एमएलएसमा यो सिजन १२ मात्र खेल खेल्न पाएका मेस्सीले १२ गोल र नौ असिस्ट गरेका छन् ।