Nepal Times
Nepal Times
3
Shares

विश्व कीर्तिमानधारी बोल्ट, जसले पूरा गर्न सकेनन् आफ्नै सपना

विश्व कीर्तिमानधारी बोल्ट, जसले पूरा गर्न सकेनन् आफ्नै सपना

३० साउन, विराटनगर । जमैकाका कीर्तिमानधारी विश्व चर्चित धावक उसेन बोल्टले सन् २०१६ मा आजकै दिन अर्थात् अगस्ट १४ मा ओलम्पिक प्रतियोगितामा विरलै हुने कीर्तिमान कायम गरेका थिए । शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले एक सय मिटर दौडमा स्वर्ण जित्दै लगातार एक सय मिटर दौडमा तीन ओलम्पिकमा स्वर्णको कीर्तिमान कायम गरेका थिए ।

ब्राजिलको रियो दी जेनेरियोमा आयोजित प्रतियोगितामा उनले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका थिए । बोल्टले २०१६ को ओलम्पिकको एक सय र दुई सय मिटरको दूरी क्रमशः ९.८१ र १९.७८ सेकेन्डमा पार गरेका थिए । ट्र्याक एन्ड फिल्डको दुनियाँमा आफूले बनाएको कीर्तिमानलाई कायम राख्दै बोल्ट जीवनमा एउटा सफल व्यावसायिक फुटबलर बन्न चाहन्थे । तर, त्यो सपना भने उनले पूरा गर्न सकेनन् ।

सन् २०१७ मा बोल्टले ट्र्याक एन्ड फिल्डको संसारबाट सन्यास लिए । सन्यास लिँदा उनी ३० वर्षका मात्र थिए । सन् २०१७ को अगस्टमा विश्व च्याम्पियनसिपमा दौडिँदा बोल्टले चोट महसुस गरे, जुन उनी ट्र्याकबाट अलग हुन प्रेरित हुने एक कारक बनेको थियो । ट्र्याकबाट अलग भए पनि मानिसहरू उनलाई धावककै रूपमा आज पनि पछ्याइरहेका छन् । किनकि बोल्टको गतिमा कुद्नसक्ने अर्को धावक संसारमा अहिलेसम्म देखापरेको छैनन् । उनले ट्र्याक एन्ड फिल्डमा बनाएको रेकर्ड कसैले तोड्न सकेको छैन् ।

धावकका रूपमा अनेकौँ कीर्तिमान बनाएका बोल्टले सन्यास लिएलगत्तै उनको फुटबल सपनामा जागृत भयो । त्यसपछि व्यावसायिक फुटबल खेलाडी बन्ने आफ्नो सपना साकार गर्न विभिन्न फुटबल क्लबसँग कुरा राख्न थाले ।

उनले दक्षिण अफ्रिकाको शीर्ष क्लब मामालोडी सानउडानका खेलाडीहरूसँग मिलेर अभ्याससमेत थाले । त्यहाँ दुई महिनासम्म प्रशिक्षणमा रहेका उनी मार्च २०१८ मा थप अभ्यासका लागि जर्मनको शीर्ष डिभिजन क्लब बोरुसिया डर्टमुन्डआबद्ध भए ।

उनले दुई दिनसम्म डर्टमुन्डका खेलाडीसँग ‘ट्रायल’ गरेका थिए । योसँगै इङ्ल्यान्डको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडआबद्ध हुने उनको सपनासमेत थियो । त्यसका लागि उनले म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनसँग कुरासमेत गरेका थिए । त्यसबेला फर्गुसनले ‘फिट भएमा सम्भव रहेको’ भन्दै आश्वासन दिएका थिए ।

यसबाहेक बोल्टले इङ्ल्यान्डका खेलाडी डेभिड बेकह्यामलाई नयाँ क्लब (इन्टर मियामी) खोलेको उपलक्ष्यमा बधाई दिँदै यदि स्ट्राइकर चाहिएमा आफू रहेको भनेर सन्देशसमेत पठाएका थिए ।

उमेर ३०–३१ वर्षमात्र भएका कारण बोल्टसँग व्यावसायिक फुटबल खेल्न पर्याप्त समय थियो । दौडमा सबैभन्दा अब्बल भएका कारण युरोपका शीर्ष लिग खेल्न आफ्नो योग्यता पुग्नेमा उनी विश्वस्त पनि थिए । तर, उनलाई कसैले पत्याएनन् ।

प्रशिक्षकहरूले उनले फुटबल खेल्नका लागि अझै धेरै मेहनत गर्नुपर्छ भनेपछि व्यावसायिक फुटबल खेल्ने बोल्टको सपना, सधैका लागि सपनामै सीमित बनेको थियो । खुम्चिँदो सपना र बढ्दो उमेरआत्मसात् गरेर उनले अस्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोस्ट मरिनर्समा ट्रायल र प्रशिक्षण गरेका थिए ।

त्यसबेला बोल्टमा निहित भरोसा देखेर क्लबले उनलाई अनुबन्धको प्रयाससमेत गरेको थियो । अनुबन्धनका लागि उनले क्लबसँग तीन मिलियन डलर मागेका थिए । तर दुई पक्षबीच अनुबन्धन रकममा कुरा नमिल्दा बोल्टले अस्ट्रेलियन क्लब छोड्ने निर्णय गरेका थिए । अन्ततः जनवरी २०१९ मा बोल्टले आफ्नो खेल जीवनकै सबैभन्दा ‘बोल्ड’ निर्णय लिए ।

लामो समय फुटबल खेलाडी बन्ने योजनासहित विभिन्न क्लबमा प्रशिक्षण गर्दा पनि मैदानमा उत्रिने सपना पूरा नभएपछि उनले खेल जीवनबाट सधैका लागि सन्यासको घोषणा गरे । उत्कृष्ट धावकका रुपमा बोल्टले कीर्तिमान बनाए पनि फुटबलर बन्ने आफ्नो अर्काे सपना भने उनी सधैँका लागि पैतलामुनि राख्न विवश भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.