३२ साउन, विराटनगर ।
छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ ।
मूलधारका दलहरूमाथि बढ्दै गएको निराशाका बीच स्थापना भएको कान्छो दल रास्वपाले चुनाव चिह्न घण्टी लिएर जेठा र ठूला भनिएका दलहरूसमक्ष चुनौती पस्कियो ।
दोस्रो संसदीय निर्वाचनको ६ महिनाअघि मात्र खुलेको रास्वपा २०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गरेर संसद र सरकारमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन सफल भयो । जसले उपनिर्वाचनमा थप एक सिट थपेर सांसदको संख्या २१ पुर्यायो ।
‘सरकारमा गइहाल्न हुन्थेन कि’ भन्ने जनभावनालाई कुल्चिएर गत वर्षको पुस १० गते माओवादी–एमाले समीकरणमा बनेको सत्ताको फेरो समातेपछि तत्काल आलोचना नभएको होइन । सत्तामा पुगेपछि प्रदूषित भइन्छ भन्ने सर्वमान्य सिद्धान्त बुझ्नेहरूले त्यसबेलै टीका–टिप्पणी गरेकै हुन् ।तर, त्यस्ता आलोचना, टीका–टिप्पणी पखाल्ने प्रयत्न रास्वपाबाट मन्त्री हुनेहरूले आफ्नो काम–कारबाहीको गतिमार्फत गरे । छोटो समयमा नै भएपनि उनीहरुले आलोचना गर्नेहरुलाई काम गरेरै जवाफ दिने प्रयास गरे । तर, सत्ताच्युत भइसकेपछि रास्वपाको ‘शान’ आन्तरिक विवादकै कारण ओरालो लागिरहेको छ ।
पछिल्लो समय झन् पार्टीभित्रको विवाद यसरी चुलिएर गएको छ कि विरोधीहरूलाई काखी बजाउने मौका मिलेको छ ।‘मिसन ८४’ को नारा दोहोर्याउने रास्वपाका सभापति रवि लामिछाने र निलम्बित महामन्त्री डा. मुकुल ढकालबीचको चिसिएको सम्बन्धले गर्दा आगामी निर्वाचनसम्ममा त पार्टी विभाजन पो हुन्छ कि भन्ने आशंका निम्तिएको छ ।
रास्वपाभित्रका समस्या र विकृति पनि पार्टीको बैठकमा राख्न नपाउनेसभापति लामिछानेको अडान मिचेर अगाडि बढेका मुकुललाई रोक्न हम्मे–हम्मे परेको अवस्था छ । रास्वपाभित्र मुकुलको विद्रोह किन हो भन्नेमा पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म अनभिज्ञ छन् ।
पार्टीविरुद्ध हात धोएरै लागेझैं गर्ने मुकुलको यो जिद्दिपना एक्लिएर हो वा नियोजित हो भन्नेबारे निर्क्लौछ छैन् । यस्तै भइरहे सभापति लामिछानले फेहरिस्त लगाएको मिसन ८४ सम्ममा रास्वपाको हालत के होला ? भन्ने कुनै ठेगान छैन ।
आन्तरिक विवादको मुल जड
आन्तरिक रूपमा रास्वपाभित्र ‘खतराको घण्टी’ बजाउने काम पार्टी सभापति र निलम्बनमा परेका महामन्त्रीबीचको टकरावबाटै सिर्जित भएको सहजै अनुमान लगाउन सकिन्छ ।
समस्या सतहमा आउनुको कारण पनि रास्वपाको अवस्थाबारे मुकुलले गत असारमा बनाएको प्रतिवेदन हो । गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा भोगेको निराशाजनक परिणाम र पार्टीको अवस्था संकटग्रस्त चित्रण गर्ने उक्त प्रतिवेदनपछि रुष्ट बनेका रवि र मुकुलबीच त्यसपछि मतभेदको अवस्था सिर्जना भयो । त्यसपछि मुकुललाई एक्ल्याएर काबुमा राख्न खोज्ने काममा खटिन थाल्यो रविको टिम ।
घेरावन्दीले आजित बनेपछि उनी गत असार १९ गतेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्न नदिइएको भन्दै कालो टेप लगाएर उपस्थित भएका थिए । बैठकमा नबोलेका मुकुल पहिलो पटक रवि र अन्य नेतृत्वविरुद्ध घण्टीघरकै परिसरमा विद्रोहको शैली प्रस्तुत भए ।
त्यसपछि रास्वपा र मुकुल दुई कित्तामा देखिए । असार १९ गते मुकुललाई पहिला पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बन गरियो । फेरि पार्टीको सदस्यबाट निष्कासन गर्नेगरी स्पष्टीकरण सोधियो । यसबीचमा मुकुल पनि प्रतिवादमा नउत्रिएका होइनन् । उनले पनि सभापति लामिछानेको राजीनामा मात्र मागेनन्, सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने पनि माग गरे ।
दुई उपसभापतिविरुद्ध पनि उनले गम्भीर आरोप लगाए । डा स्वर्णिम वाग्लेविरुद्ध त मुकुलले देशद्रोहसम्मको आरोप लगाउन भ्याए ।सायद पार्टीभित्र एक्लिएर मुकुलको विद्रोहले निरन्तरता पाएको आँकलन धेरैको छ ।
तर, केही दिन अघिमात्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १५ बुँदे सुझावपत्र बुझाएपछि मुकुल थप शंकाको घेरामा परेका छन् । पार्टीका आर्थिकदेखि राजनीतिक रणनीतिसहितका आन्तरिक विषयहरु छताछुल्ल पारेर अन्य दल र विपक्षी गठबन्धनको सरकार सुधार्नतिर लागेको अनुमान लगाउँदै धेरैले मुकुललाई रास्वपाविरुद्ध नियोजित रूपमा खटाइएको व्यक्ति पो हो कि ! भन्ने दृष्टिकोणबाट पनि हेर्न थालेका छन् ।