३२ साउन, विराटनगर ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत भ्रमणमा जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पाण्डेको भारत भ्रमण स्वीकृत प्रदान गर्ने निर्णय गरेको शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार मन्त्री पाण्डे भारतमा भदौ ७ गतेदेखि ९ गतेसम्म आयोजना हुन लागेको आठौं अन्तर्राष्ट्रिय धर्म-धाम कन्फेरेन्समा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा रहने प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।नियमित स्वास्थ्य परीक्षणका लागि भारत जाने तयारीमा रहेकी राणाको यो भ्रमणलाई भारत सरकारले ‘औपचारिक’ बनाउने तयारी गरेको छ ।
राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।