१ भदौ, विराटनगर ।
चिठीमार्फत् मागेको फिरौती रकम लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरको रामगोपालपुर नगरपालिका-५ कञ्चनपुर घर भई हाल जलेश्वर नगरपालिका १ मा डेरा गरी बस्ने २५ वर्षीय सुनीलकुमार राउत र सोही ठाउँका १९ वर्षीय करण मण्डल रहेका छन् ।
उनीहरूले जलेश्वर नगरपालिका-५ का गफुर राईन भन्ने व्यक्तिलाई पत्र लेखेर ९२ हजार रुपैयाँ माग गरेका थिए ।
केही दिनअघि धम्कीपूर्ण भाषा प्रयोग गरी रकम मागेका उनीहरूले पत्रमा सो रकम जलेश्वरनाथ महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा राख्न भनेका थिए ।पीडितले प्रहरीलाई जानकारी गराएर प्लास्टिकमा कागज पोको पारी मन्दिरपरिसरको फोहोर फाल्ने भाँडोमा राखेका थिए ।
सो पोको निकाल्न खोज्दा लुकेर बसेको प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको हो ।
मन्दिर अगाडिबाट शनिबार बिहान पक्राउ परेका उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज मुड्भरीले जानकारी दिए ।