१ भदौ , एजेन्सी ।
कुवेतको जजिरा एयरलाइन्सले फेरि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि पनि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान सुरु गर्ने योजना बनाएको हो । साउन २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गर्दै जजिराले कुवेत भैरहवा उडान तालिका स्वीकृत गर्न आग्रह गरेको छ ।
जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जजिरा एयरले भैरहवा कुवेत सातामा ४ उडान गर्ने गरी अनुमति माग गरेको नेपाल नागरिक उड्डयन प्राधिकारणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारीले दिए ।
उनले भने, ‘जजिराले भैरहवाबाट सातामा ४ वटा उडान तालिक स्वीकृत गर्न पत्राचार गरेको छ,’ । ‘मन्त्रिपरिषद्ले भैरहवाबाट उडान गर्दा काठमाडौंभन्दा टिकट मूल्य कम्तिमा १० हजार रुपैयाँ सस्तो हुने गरी छुट दिने निर्णय गरेको सुनिएको छ । मन्त्रिपरिषद्ले के कति छुट दियो भन्ने जानकारी प्राप्त भएपछि जजिराको उडान तालिका स्वीकृत गर्ने हाम्रो तयारी छ’ प्राधिकरणका सूचना अधिकारीले भनेका छन् ।
भैरहवामा विमानस्थमा उडान गर्न वायुसेवा कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा ३ वर्षसम्म छुट दिनुपर्ने माग गरेका छन् । यस्तै, गौतमबुद्ध विमानस्थलमा प्रयोग हुने हवाई इन्धनमा छुट दिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ३ हजार यात्रु सेवा शुल्क तथा टिकट बिक्रीमा लाग्ने करमा समेत छुट दिन माग गरेका थिए ।
सरकारले उड्डयन आफूहरुले मागेका छुट दिए भैरहवा अवुधाबी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको थियो । हाल काठमाडौं अवुधावीको भाडादर अहिले औषतमा ४० हजार रुपैयाँ छ । यस्तै जजिराले पनि सरकारले छुट दिएमा कुवेतमा नियमित उडान गर्ने इच्छा देखाएको थियो । प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिने निर्णय गरेकाले भदौ तेस्रो सातामै उडान गर्ने तयारी गरेको हो ।