३ भदौ, विराटनगर ।
राजस्व अनुसन्धान विमागले अमेरिकी डलर चीनतर्फ तस्करी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय नेपाली युवकमाथि २६ लाखको मुद्दा दायर गरेको छ ।
गत साउन ९ गते आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २१ वर्षीय नुर्पु तामाङ अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका थिए ।
अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ परेका तामाङविरुद्ध २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको हो ।
विभागले जिल्ला अदालत रसुवामा शुक्रबार तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।जिल्ला अदालतले तामाङसँग आठ लाख धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि थुनामै छन् ।
रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ २० हजार डलर लैजाँदै गर्दा उनी पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट अमेरिकी डलर १ सयका नोट २ सय थान गरी २० हजार डलर फेला पारेको थियो ।
बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।