३ भदौ, विराटनगर ।
आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको बार्सिलोना र रोनाल्डोआबद्ध रियल मड्रिडबीचको ‘एल क्लासिको’ विश्वकप फुटबलको फाइनल खेल सरह हुन्थ्यो । विश्वभरबाट यो खेलको त्यतिनै प्रतिक्षा गरिन्थ्यो, जति विश्वकपको हुन्थ्यो ।
त्यसबेला युरोपियन लिग, अझ विशेषगरी ला लिगाको रौनकता छुट्टै थियो, चर्चा–विश्लेषण हुन्थे । तर, सन् २०१८ मा रोनाल्डो रियल छोडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएपछि एल क्लासिको रौनकता घट्न थाल्यो ।
त्यसको तीन वर्षपछि अर्जेन्टिनी स्ट्राइकर मेसीले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान बार्सिलोना छोडे । यसपछि त झन्, फुटबल समर्थकले ला लिगाकै स्तर खस्किएको अनुभूति गर्न थाले ।
मेसी र रोनाल्डो ला लिगामा नहुँदा पनि युरोपियन लिगमै थिए । फुबटल ‘फ्यान’ हरूको मन युरोपका शीर्ष पाँच डिभिजनतिरै अडिएको थियो ।तर, पछिल्लो समय युरोपेली फुटबलका लागि एक खराब समय आयो । जब रोनाल्डो र मेसीसँगै अरू स्टार खेलाडीहरूले भटाभट युरोपेली क्लबहरू छोड्न थाले ।
पोर्चुगिज स्टार खेलाडी रोनाल्डो १ जनवरी २०२३ मा साउदी अरेबियन क्लब अल नासरमा अनुबन्धित भए । रोनाल्डोसँगसँगै उनका समर्थकको रुचि पनि अब अल नासरले खेल्ने लिगहरूतर्फ आकर्षित बन्यो ।
विश्वकप विजेता मेसी १५ जुलाई २०२३ अमेरिकन क्लब इन्टर मियामीमा आबद्ध भएर मेजर सकर लिग खेल्न थाले । मेसीका फ्यानको रोजाइ पनि त्यसतिर ढल्क्यो । इंग्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकह्यामको क्लब इन्टर मियामीले मेसीलाई मात्र नभएर सर्जियो बुस्क्वेटलाई पनि अघिल्लै वर्ष किन्यो । यसै वर्षको सुरुमा उरुग्वेका स्टार लुइस स्वारेज पनि मेसीसँग खेल्न मियामी पुगे । जोर्डी अल्बाले पनि मियामीबाटै खेल्न बार्सिलोना छोडे ।
गत वर्ष नै ब्राजिलका स्टार खेलाडी नेयमार पिएसजी छोडेर साउदीकै क्लब अल हिलाल हानिए । लिभरपुलबाट चम्किएका सेनेगलका खेलाडी साडियो मानेले पनि बायर्न म्युनिख छोडेर साउदीकै अल नासर रोजे । यस्तै फ्रान्सका विश्वकप विजेता करिम बेन्जेमाले रियल मड्रिड छोडेर साउदीको अल इतिहादबाट व्यवसायिक फुटबल खेल्ने निर्णयमा पुगे । रोबर्टो फिर्मिन्हो, फाबिन्हो, एनगोलो कान्टेले पनि युरोपियन लिग छोडेर साउदीका विभिन्न क्लबहरूमा आबद्ध भए ।
यसरी, स्टार खेलाडीहरू पारिश्रमिकको लोभमा अरू देशका क्लबहरूमा आबद्ध भइहरँदा उनीहरूसँगै समर्थकको चासोसमेत कम भएपछि युरोपियन शीर्ष डिभिजनका लिगको रौनकतामा गिरावट आएको छ ।
विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगप्रति चर्चा क्रमश घटिरहेको छ । स्टार खेलाडीहरु आवद्ध हुनुअघि अन्तराष्ट्रिय चर्चा पाउन नसकेका साउदीका लिगहरू अहिले प्रमुख प्राथमितामा परेका छन् ।
युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगमा इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग ‘वान’ मा पछिल्लो समय केही स्टार युवा फुटबलरहरू नभएको भने होइन ।
हालै सम्पन्न युरोकपबाट चर्चामा आएका १७ वर्षीय लेमिन यमलले बार्सिलोनाआबद्ध भएर ला लिगा खेलिरहेका छन् । हालैमात्र विश्वकप विजेता किलियन एम्बाप्पे पिएसजी छोडेर रियल मड्रिड आए ।
भेट्रान फुटबलर रोबर्ट लेवान्डोस्कीले अझै बार्सिलोनाका लागि खेलिरहेका छन् । नर्वेका इयर्लिङ हालान्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा तहल्कै पिटिरहेका छन् ।
प्रिमियर लिगमै मोहम्मद सालाह, ह्यारी केन, केभिन डी ब्रुयनलगायत खेलाडीहरू पनि छन् । तथापि, यी लिगहरूमा पहिलेको तुलनामा रोमाञ्चकता खस्किएको आभास पाउन सकिन्छ ।
फ्रेन्च लिग वान क्लब पिएजीकै कुरा गर्नुपर्दा कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो ।
‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । मैदानमा त्यसबेला स्टार खेलाडीले भरिपूर्ण हुन्थ्यो पिएसजी ।
फरवार्ड लाइनमा मेस्सी, नेयमार र एम्बाप्पे अथवा डी मारिया अनि डिफेन्सिङ लाइनमा रामोस, अच्राफ हाकिमीलगायत । तर, विस्तारै पिएसजी अहिले स्टार खेलाडीविहीन बन्दै गइरहेको छ ।
सर्वाधिक धेरै २५६ गोल गरेका एम्बाप्पेको बहिर्गमनपछि त झन् पिएसजीमा शून्यताकै अवस्था नै ल्याएको छ । स्टार खेलाडीहरु पलायन भएपछि पिएसजीको ‘सान’ त ढल्यो नै फ्रेन्च लिगकै रोमाञ्चकता खस्किने अनुमान छ ।