३ भदौ, विराटनगर ।
पछिल्लो ६ वर्षको अवधिमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमविपरीत उडान र नियम उल्लंघन गर्ने ७० जना पाइलट कारबाहीमा परेका छन् ।
दुर्घटना भएर ज्यानै गएको अवस्थाबाहेक अरू बेला नियमविपरीत काम गर्ने पाइलटहरूलाई क्यानले कारबाही गर्दै आएको छ । क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको नियमविपरीत काम गरेका पाइटलहरू कारबाहीमा पर्छन् ।
सन् २०१८ देखि २०२४ सम्म यसरी नियमविपरीत काम गरेका भन्दै ७० जना पाइलट कारबाहीमा परेको क्यानको तथ्यांक छ ।
क्यानले सन् २०१८ मा १४ जनालाई कारबाही गरेको थियो भने २०१९ मा आठ जना, २०२० मा सात जना, २०२१ मा ६ जना, २०२२ मा १० जना, २०२३ मा १६ जना र २०२४ को हालसम्म नौ जनालाई कारबाही गरेको हो ।
विशेषगरी सिनियर पाइलटहरूले नै क्यानको नियम उल्लंघन गर्ने गरेका छन् । क्यानको सिभिल एभिएसनको सेक्युरिटी प्रोभिजन उल्लंघनमा नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामा र भावना पन्त यसअघि कारबाहीमा परेका थिए ।
प्राधिकरणले अनुमतिबिना उडानका दौरान भ्लगरलाई अन्तर्वार्ता दिएको भन्दै लामालाई कारबाही गरेको थियो ।
नेपाल आएका चर्चित एभियसन भ्लगर साम चुईले नेपाल एयरलाइन्समार्फत उडान भरेका थिए, जहाँ विजय लामाले हवाईजहाज उडाएका थिए ।