५ भदौ, विराटनगर ।
यसअघि बंगलादेशमा हुने तय भएको आइसिसी टी-२० महिला विश्वकप क्रिकेट युएईमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार निर्णय गर्दै आगामी अक्टोबर महिनादेखि हुने महिला विश्वकप युएईमा हुने जनाएको हो ।
बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्येनजर गरेर नवौं संस्करणको महिला विश्वकप युएईमा सारिएको आइसिसीले जनाएकाे छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्नसक्ने बताइरहँदा आइसिसीले सुरक्षा चुनौतीलाई मध्यनजर गरेर युएईमा सारेको हो ।
अब, आगामी अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र शारजाहमा हुने आइसिसीले जनाएको छ । आइसिसीका कार्यकारी प्रमुखले जियोफ अलार्डाइसले भनेका छन्, ‘बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने प्रयास गरेकोमा धेरै-धेरै धन्यवाद । तर, विश्वकमा सहभागी हुने टोलीहरूलाई असहज हुने देखिएपछि हामीले सार्नैपर्ने अवस्था आएको हो । भविष्यमा कुनै संस्करण बंगलादेशमा पनि हुने छ ।’
विश्वकपमा यसपालि १० राष्ट्रको सहभागिता छ । सन् २०१४ यता आइसिसीले १० टोलीलाई सहभागी गराएर विश्वकप खेलाउँदै आएको छ । विश्वकपको अघिल्लो संस्करणको विजेता भने अस्ट्रेलिया हो । उसले सर्वाधिक ६ पटक उपाधि जितिसकेको छ ।१० राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अस्ट्रेलियासँगै भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् भने समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।