४ भदौ , विराटनगर ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिबेला छिमेकी राष्ट्रको भ्रमणमा छिन् । भ्रमणका मुख्य उपलब्धि रहने त्याहाका प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी विदेश मन्त्री एस जयशंकरसँग उनको भेट भईसकेको छ । तर उनी अझै दिल्ली घुम्नेछिन् । भदौ ६ गतेमात्रै उनी स्वदेश फर्किने कार्यक्रम छ। फुर्सदिलो समय लिएर दिल्ली पुगेकी आरजु स्थानीय खान मार्केटमा पुगेर पुस्तक पढ्न र किन्न समेत भ्याएकी छिन् ।
भारतको महत्वपूर्ण भ्रमणका क्रममा पनि पुस्तकालयको भ्रमण गर्न पुगेको आरजुको तस्विर भारतस्थित नेपाली दूतावासले सार्वजनिक गरेपछि मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनलाई अध्ययनशील भनेका छन् भने केहीले भारतका सचिवसम्मले नेपालमा २ दिन समय लिएर आउने र एकै दिनमा भेटवार्ता सक्ने भएपनि यताका मन्त्री समेत उता जादा फुर्सदिला भएर पुस्तकालय घुम्न जान भ्याएको भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा यसका विषयमा मिश्रित प्रतिक्रिया आएपनि सारमा बुझ्न सकिन्छ उनी अध्ययनशील छिन् र आफूलाई चाहिएको पुस्तक पढ्न र किन्न खान मार्केट पुगिन् । आरजुको पुस्तकमोहको चर्चा चलिरहेका बेला उनका पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने पुस्तक लगेर पनि नदिएको भन्दै सार्वजनिक रुपमा आलोचित बनेका छन् । अभियन्ता भारती सिलवालले नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई उक्त पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् । ‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब ।
उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटि प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’ सिलवालले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् । तर सोही कार्यक्रमै देउवाले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नै नभएको जवाफ दिएका छन् ।
स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले किताब लगेको आफूलाई सम्झनामै नभएको बताएका हुन्। लगेको भए पनि किताबले आफूलाई फाइदै गरेको होला भन्दै उनले सिलवाललाई धन्यवाद दिए । ‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला । धन्यवाद दिन चाहन्छु‚’ देउवाले भने । पुस्तक लगेको तर फिर्ता नगरेको चर्चा यतिमै सिमित भएन । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा पढ्ने व्यक्ति भएको सन्देश भारती गिरीले दिन खोजेको भन्दै व्यङ्ग्य गरे । उनले भने‚‘३२ वर्ष अघि प्रमुख अतिथिजीले उहाँबाट एक किताब लिएर जानुभए छ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो लागेन बढो जोडका साथ भन्नुभयो । तर पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन । दुई सन्देश देखेको छु ।’
उनले नेपालका राजनीतिक दलका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको भन्दै थपे‚‘ भारतीजीको मनमा के छ थाहा छैन । नेपालको नेता पढ्दैनन् भन्ने भाष्य छ शेरबहादुर देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे कृष्णमूर्ती जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’